काठमाडौं- मालपोत कार्यालय र भू-माफियाको मिलेमतोमा सार्वजनिक मात्र होइन, व्यक्तिगत जग्गासमेत अर्कैका नाममा पारी बिक्री गरिएको तथ्य फेला परेको छ।
गिरि थर रहेका एक व्यक्तिको जग्गालाई राई बनाउँदै मिलेमतोमा दर्ता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृतसहित ५ जना विरुद्ध मुद्दा दायर गरेको छ।
जमिदारी पटुवारीमा रसिद काटी ७ नं. अनुसूची फाराम भरेको फिल्डबुकमा खगेन्द्र कुमारीको जग्गा भनी उल्लेख भएकोमा उनको मृत्युपछि राई बनाउँदै अर्कै व्यक्तिले दर्ता गरेको अख्तियारले गरेको अनुसन्धानबाट खुलेको थियो।
खगेन्द्र कुमारी गिरिका छोराहरु पश्चात नामसारी जाँदा उक्त जग्गा धरान-१४ बस्ने कर्णबहादुर राईले आफ्नो नाममा ल्याएको पाइएको थियो। उनले खगेन्द्रकुमारी गिरीलाई खगेन्द्रकुमारी राई बनाई आफ्नो नाममा नामसारी गरी विक्री वितरणसमेत गरेपछि उनी विरुद्ध गिरि परिवारले अख्तियारमा उजुरी गरेका थिए।
उक्त जग्गा खगेन्द्रकुमारी राईको बनाई कर्णबहादुर राईको नाममा नामसारी गर्ने कार्यमा संलग्न भएको भन्दै अख्तियारले मालपोत कार्यालय, धरानका तत्कालीन अधिकृत फणीन्द्र भट्टराई समेतको मिलेमतो रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो।
सो उजुरीमा छानबिन गर्दै अख्तियारले मालपोत अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारले उक्त कार्यमा संलग्न भएको भन्दै मालपोत कार्यालय, धरानका तत्कालीन मालपोत अधिकृत फणीन्द्र भट्टराई, तत्कालीन नासु डिल्लिराम कोइराला, तत्कालीन सर्वेक्षक योगेन्द्र प्रसाद यादव, तत्कालीन खरिदार श्यामप्रसाद लो र जग्गा धनी कर्णबहादुर राई विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले उनीहरुसँग भ्रष्टाचार निवारण ऐन अनुसार बिगो, जरिवाना र कैद सजाय अधिकतम हुनुपर्ने माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।