काठमाडौँ- नेपाली सेनाले करिब साढे ३ अर्बको लागतमा अत्याधुनिक प्रविधियुक्त मुख्यालयको नयाँ भवन निर्माण सम्पन्न गरेको छ। सो भवनको उद्घाटन मंगलबार भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सेनाको मुख्यालय जंगी अड्डाको उद्घाटन गरेकी हुन्।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत निर्माण गरिएको नयाँ भवन अलग-अलग ७ वटा भवन जोडेर तयार गरिएको छ।
यहाँबाट सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ वटा कार्यालय सञ्चालन हुनेछन्।
७ तला अग्लो भवनको निर्माण दुई वर्ष १० महिनामा भएको हो।
भवन विसं २०७३ जेठ २४ गतेबाट निर्माण सुरू भएको थियो।
२०७२ सालको गोरखा भूकम्पपछि क्षतिग्रस्त भएको यो छोटो अवधिमा निर्माण सम्पन्न भएको सबैभन्दा ठूलो आयोजना हो।
सैनिक भवन निर्माणका लागि दैनिक ४ सयको सङ्ख्यामा जनशक्ति खटिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।