कोलकाता (एजेन्सी)– श्रीलंका विरुद्ध पहिलो टेस्टको पहिलो इनिङमा भारतको विश्वस्तरीय व्याट्सम्यानको पोल खुलेको छ। भारत पहिलो इनिङमा १ सय ७२ रनमा खुम्चियो। चेतेश्वर पुजाराले केही समय संघर्ष गरेका थिए। मोहम्मद समी र भुवनेश्वर कुमारले पुछारमा केही समय व्याटिङ नगरेको भए भारतको अवस्था अझै दयनीय बन्ने थियो।
भारतले १२ वर्षपछि सबैभन्दा कम स्कोर बनाएको हो। भारतले घरेलु प्रतियोगितामा यसअघि अस्ट्रेलिया विरुद्ध सन् २००५ मा चेन्नईमा १ सय ६७ रन बनाएको थियो। तर, त्यो खेल भारतले जितेको थियो।
यसपालि भारतले ५० रन भित्र ५ विकेट गुमायो। जुन ७ वर्षपछि यति खराब व्याटिङ भएको हो। २०१० मा न्युजियान्ड विरुद्ध अहमदाबाद टेस्टमा ५० रन भित्र भारतले ५ विकेट गुमाएको थियो। भारतीय क्रिकेटमा यस्तो मौका १७ पल्ट जुरेको छ। घरमा भने पाँचौ पल्ट यति खराब व्याटिङ भएको हो।
श्रीलंकाका सुरंगा लकमलले ११ मध्ये ९ ओभर मेडन फ्याँकेका थिए। उनले यसमा पनि ५ रन खर्चेर ३ विकेट लिए। उनको ४६ बलसम्म भारतीय व्याट्सम्यानले कुनै रन बनाउन सकेनन्। यसअघि भारत विरुद्ध सर्वाधिक मेडन फ्याँक्ने कीर्तिमान चामिन्दा भाषको नाममा थियो। उनले चेपकमा २००५ मा लगातार ११ ओभर मेडन फ्याँकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।