नयाँ दिल्ली- भारतीय लोकसभा चुनावकाे तेस्राे चरणमा मंगलबार १३ राज्य र केन्द्रबाट शासित २ प्रदेशमा मतदान सुरु भएकाे छ। १ सय १७ लाेकसभा सिटका लागि हुने आजकाे निर्वाचनमा गुजरात, केरला, महाराष्ट्र र कर्नाटककाे ७४ सिटलाई भने महत्वपूर्ण मानिएकाे छ।
सबै १ सय १७ सिटका लागि १ हजार ६ सय १२ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये ३ सय १४ उम्मेदवार राष्ट्रिय दलबाट, ७६ जना क्षेत्रीय दलबाट, ४ सय ९२ जना गैर मान्यता प्राप्त दलबाट र ७ सय १२ जना स्वतन्त्र उम्मेदवार रहेकाे भारतकाे चुनाव आयाेगले जनाएकाे छ।
मतदान स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएकाे छ। साे क्रम साँझ ५ बजेसम्म चल्नेछ।
याे चरणमा गुजरात (२६ सिट), केरला (२० सिट), कर्नाटक (१४ सिट), महाराष्ट्र (१४ सिट), गोवा (२ सिट), आसाम (४ सिट), बिहार (५ सिट), ओडिसा (६ सिट), उत्तर प्रदेश (१० सिट), छत्तीसगढ (७ सिट), पश्चिम बंगाल (५ सिट), दमन र दिव (१ सिट), दादर नागर हवेली (१ सिट) र जम्मू-काश्मीर (१ सिट) मा मतदान भइरहेकाे छ।
आजकाे चुनावमा विशेषगरी प्रमुख २ दल सत्तारुढ भारतीय जनता पार्टी र प्रमुख प्रतिपक्ष भारतीय कांग्रेस दुबैका लागि महत्वपूर्ण छ। आजैका दिन दुबै पार्टीका प्रमुखकाे चुनावी भविष्यबारे निर्क्याेल हुनेछ। बिजेपी अध्यक्ष अमित शाह गुजरातकाे गान्धीनगरबाट र कांग्रेस अध्यक्ष राहुल गान्धी वायनाड संसदीय क्षेत्रबाट चुनावी लड्दैछन्।
भारतीय प्रधामन्त्री नरेन्द्र माेदीले पनि आजै आफ्नाे मताधिकार सुरक्षित गरिसकेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। अहमदाबादस्थित मतदान केन्द्रमा माेदी आफ्नी नातिनीका साथमा देखिएका थिए। साे क्रममा उनकाे साथमा बिजेपी अध्यक्ष शाहसमेत सँगै थिए। गृहनगर पुगेका बेला उनले आफ्नी आमालाई समेत भेटेका छन्।
एसोसिएसन अफ डेमोक्रेटिक रिफर्म्सले तस्राे चरणकाे निर्वाचनलाई लिएर उम्मेदवारहरुकाे विगतकाे चारित्रिक अवस्थाकाे बारेमा एक रिपाेर्ट सार्वजनिक गरेकाे छ। कुल १ हजार ६ सय १२ उम्मेदवारमध्ये १ हजार ५ सय ९४ उम्मेदवारकाे उम्मेदवारी दर्ताका आधारमा साे रिपाेर्ट तयार गरिएकाे बताइएकाे छ। जसअनुसार २१ प्रतिशत उम्मेदवार अर्थात ३ सय ४० जना माथि आपराधिक मुद्दा दायर भएकाे छ। २ सय ३० अर्थात १४ प्रतिशत यस्ता उम्मेदवार छन्, जसका विरुद्ध गम्भीर प्रकृतिका आपराधिक मुद्दा दायर भएका छन्।
रिपोर्टका अनुसार चुनावी मैदानमा रहेका २५ प्रतिशत(३ सय ९२ जना) उम्मेदवार करोडपति छन्। तेस्राे चरणमा सामेल उम्मेदवारकाे औसत सम्पत्ति करिब ३ कराेड भारतीय रुपैयाँ छ।
गत अप्रिल ११ बाट सुरु भएको निर्वाचन ७ चरण पार गर्दै मे १९ मा सकिँदैछ।
चुनावको मतगणना भने मे २३ बाट सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।