काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले सम्पर्कमा नआउने मुक्त हलिया र मुक्त कमैयाको नाम लगतबाट हटाउन निर्देशन दिएकी छन्।
संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सोमबार धनगढीमा आयोजना गरेको मुक्त हलिया तथा मुक्त कमैया परिवारको पुनर्स्थापना पूर्णरुपमा सम्पन्न गर्ने सम्बन्धमा रणनीति तय गर्ने छलफल कार्यक्रममा मन्त्री अर्यालले मालपोत तथा भूमिसुधार कार्यालयका प्रमुखहरूलाई निर्देशन दिइन्।
'सूचना गर्दागर्दै पनि सम्पर्कमा नआउने मुक्त कमैया र मुक्त हलियाहरूको नाम कागजमा लेखिए पनि वास्तविक नभएकोले लगतमा नाम राखिराख्न आवश्यक छैन,' उनले भनिन्।
मन्त्री अर्यालले अवास्तविक मुक्त हलिया तथा मुक्त कमैयाको लगतमा नाम रहिरहँदासम्म सरकारको कार्यक्रम पूरा नहुने र मुक्त कमैया तथा मुक्त हलिया समस्या पनि समाधान नहुने बताइन्।
उनले चालू आर्थिक वर्षभित्रै मुक्त कमैया र हलिया पुनर्सथापना कार्य पूर्ण रुपमा सक्ने गरी काम भइरहेको बताइन्। सरकारले कमैया मुक्त गरेको १८ वर्ष तथा हलिया मुक्त गरेको १३ वर्ष पुरा भएको स्मरण गर्दै भनिन्, 'यत्रो लामो अवधिसम्म पनि सरकारी समितिहरूको सम्पर्कमा नआएका व्यक्तिहरूका नाम पनि मुक्त हलिया तथा मुक्त कमैयाको सूचीमा रहेकोले एक महिनाभित्र सम्पर्कमा नआएमा सूचिबाट नाम हटाएर समस्या समाधान गर्छौं।'
उनले राज्यसित भएको तथ्यांकका आधारमा चालू आर्थिक वर्षभित्रै सबै मुक्त हलिया र कमैयाको पूनस्थार्पना गर्ने बताइन्। एकअर्को प्रसंगमा मन्त्री अर्यालले सरकारले भू–उपयोग नीति बनाइरहेको र आवास क्षेत्रमा मात्रै जमिन कित्ताकाट गर्ने र कृषियोग्य भूमि खण्डीकरण हुन नदिने नीति लागू गरिने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।