काठमाडौं- प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीले उखु किसानलाई तत्काल अनुदान सहायता उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै सांसद त्रिपाठीले उखु उद्योगीहरूका कारण अर्बौंको घाटा व्यहोर्न बाध्य उखु किसानहरुका लागि सरकारले ७० प्रतिशत र उखु उद्योगीहरुले ३० प्रतिशत अनुदान सहायता तत्काल उपलब्ध गराउनुपर्ने पनि स्पष्ट पारेका हुन्।
उखु उद्योग बन्द भएका कारण सर्लाहीमा मात्रै करिब ३ अर्बको उखु खेतमै नष्ट हुने अवस्थामा रहँदा पनि सरकारले उनीहरुलाई राहत दिन उचित कदम चाल्न नसकेको सांसद त्रिपाठीको निष्कर्ष छ।
सांसद त्रिपाठीले उखु उद्योगीहरुले फेरी पनि चिनीको मूल्य वृद्धि गर्न खोजिरहेको उल्लेख गर्दै उनले सचेत रहन पनि सरकारसमक्ष आग्रह गरे।
उखु किसानलाई मारमा पार्ने उखु उद्योगीहरुको गतिविधिप्रति सरकार गम्भिर बन्न नसकेको आरोप पनि लगाए।
फरक प्रसंगमा सांसद त्रिपाठीले सरकारको एक वर्षे कार्यकाललाई निराशाजनक भन्न नमिल्ने टिप्पणी पनि गरे।
सरकारले अब भने प्राथमिकता निर्धारण गरेर आफ्नो कामलाई अघि बढाउनुपर्ने उनको सुझाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।