काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष वृद्धभत्ता बढाउने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७०औ वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले आगामी वर्ष वृद्धभत्ता बढाउने तयारी गरेको बताएका हुन्।
कार्यक्रममा उनले नेपाली कांग्रेसको आलोचना समेत गरेका छन्। आफूलाई लोकतान्त्रिक पार्टी दाबी गर्ने कांग्रेस अलोकतान्त्रिक बाटोमा हिँडेको उनले बताए। विगतमा नेपाल कम्युनिस्ट पार्टी भित्र स्वार्थका खेल भएका कारण विभाजनमा पुगेको भन्दै उनले अहिले नेपाली काग्रेस त्यही बाटोमा गएको टिप्पणी गरे।
प्रगतिशील शक्तिका विरुद्ध प्रतिगामी शक्तिसंग साँठगाठ गर्ने गलत प्रवृति नेपाली कांग्रेसमा देखिएको टिप्पणी उनको थियो। नेपाली कांग्रेसले लोकतान्त्रिक शक्तिसंग एकता गर्नुपर्नेमा प्रतिगामी शक्तिसंग एकता गरेको उहाँको तर्क थियो। 'आज अचम्म लाग्छ। कांग्रेस कहाँ पुग्यो। कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर हिडेको देख्दा विचित्र लाग्छ,' उनले भने, 'कुनै पनि लोकतन्त्रवादीले जन्मसिद्ध श्रेष्ठताका लागि मेरो शासक भईदेउ भनेर दरखास्त हाल्दैन।'
भ्रष्टाचार नियन्त्रणमा कुनै पनि मोलाहिजा नहुने उनले फेरि दोहोर्याएका छन्। वर्तमान सरकारले सुन तस्करीको सबै बाटाहरु बन्द गराएको दाबी गरेका उनले भने, 'सुन तस्करीको प्वाल बन्द गरिदिएका छौ । खै सुन ? त्यसबेलाकाले थाहा पाउन पर्यो नि कहा पुर्यायो भनेर? अहिलेकालाई खै सुन? आत्तिएका छन् कारोबारीहरु। कारोबारीको पृष्ठभूमिका बसेकाहरु आत्तिएका छन्। अब सूनको तस्करी चल्दैन । जिल्ला जिल्लामा जमिन मुनि गाडेको पनि खोजलेर निकालिएको छ। त्यो देख्नुपर्यो नि।'
लोकतन्त्र विरोधी शक्तिहरु, विध्वंस मच्चाउने र राष्ट्रिय एकतालाई कमजोर पार्ने तत्वलाई समाप्त पारिएको तथा पृथकतावादी माग बोकेको समुहलाई पनि मुलधारको राजनीतिमा ल्याईएको भन्दै उनले पृथकतावादी विचार नै समाप्त हुनु राज्यको लागि खुसीको कुरा भएको उनले उल्लेख गरे।
मुलुकबाट पृथकतावादी विचार समाप्त भएसंगै प्रतिगामी तत्वहरुमा छटपटी भएको बताएका प्रधानमन्त्री ओलीले भने, 'तास खेल्दा खेल्दै पत्ती नै हरायो अब केमा खेल्ने?'
अपेक्षा गरे भन्दा बढी उत्साहजनक ढंगले देशमा लगानी भित्रिएको दाबी उनको थियो। यसबर्ष मात्रै ४ सय वटा झोलुङ्गे पुल बनेको, ४० वटा तुईन विस्थापित भएको तथा ८ सय किलोमिटर कालोपत्रे भएको भन्दै सरकारले बिग्रेको मुलुकको अर्थतन्त्रलाई ठिक बाटोमा ल्याएको बताए।
नेकपा एकीकरण प्रक्रिया तीव्र गतिमा अघि बढेको भन्दै ओलीले बाँकी विषयलाई केही दिनमा नै टुंगो लगाईने बताएका थिए। पार्टी नेतृत्व एकढिक्का भएर सबै कामको नेतृत्व गर्न सक्षम छ भन्ने व्यवहारले देखाएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।