दाइजो नल्याएकाे निहुँमा मट्टितेल खन्याएर श्रीमतीलाई जिउँदै जलाउने प्रयास, श्रीमान फरार

नेपाल लाइभ | २०७६ बैशाख ९ सोमबार | Monday, April 22, 2019 १३:०७:०० मा प्रकाशित

जनकपुर- दाइजो नदिएको निहुँमा श्रीमानले श्रीमतीको जिउमा मट्टितेल खन्याएर आगो लगाएर हत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ।

धनुषाको सहिदनगर नगरपालिका-१, चिरैया टोलमा दाइजो (दहेज) नदिएको निहुँमा विवाद हुँदा श्रीमतीको शरीरमा मट्टितेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।

सहिदनगर नरपालिकाका स्थानीय झरी गोइतका २३ वर्षीय छोरा मुकेश कुमार गोइत (यादव)ले आफ्नै श्रीमती २१ वर्षीया निर्मला देवी गोइत (यादव)लाई जीउमा आगो लगाएर जलाइदिएका हुन्। गत बैसाख ५ गते दिउँसै मुकेशले आफ्नी श्रीमती निर्मलालाई कोठा बन्द गरी जिउमा मट्टितेल छर्केर आगो लगाई फरार भएका थिए।

निर्मलालाई ढोका थुनी आगो लगाएपछि छिमेकीहरुले चिच्याएको आवाज सुनेपछि ढोका फोडेर तत्कालै आगो निभाएका थिए। तत्कालै निर्मलाको उद्धार गरिए पनि छाती र पेटसम्म करिब ३५ प्रतिशत भाग जलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाए। निर्मला र मुकेशको बिहे भएको १० महिना मात्र भएको थियो।

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवका अनुसार दाइजो दिएरै विवाह भएपनि थप मागसहित निर्मलालाई दाइजो ल्याउन दबाब दिइएकाे थियो। सोही क्रममा ससुरालीबाट मागअनुसार दाइजाेका सामान ल्याउन समय लगाएको कारण जलाएको हुनुपर्ने प्रहरीको अनुमान छ। फरार भएका मुकेशको खोजी कार्य तीव्र पारिएको छ।

धनुषाकै कमला नगरपालिका-५, लक्कड टोल बस्ने निर्मलाकाे मुकेशसँग ४ लाख रुपैयाँ बढी दाइजो दिएरै बिहे भएकाे बताइन्छ। निर्मलाको पारिवारिक श्रोतका अनुसार मुकेशले निर्मलासँग समान्य झगडाको निहुँ खोज्दै मट्टितेल छर्केर आगो लगाएका थिए। निर्मलाको उपचारको लागि छिमेकीको सहयोगमा तत्कालै जनकपुर अञ्चल अस्पताल ल्याइए पनि थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो।

आगोबाट जलेर गम्भीर भएकी निर्मलाको उपचार अहिले शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक यादवले जानकारी दिए। अस्पताललाई उदृत गर्दै प्रहरी निरिक्षक यादवले अस्पतालमा उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्रजंग बस्नेतका अनुसार निर्मलाको ३५ प्रतिशत भन्दा बढी शरीर जलेको बताए। ३५ प्रतिशत भन्दा बढी शरीर जलेको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा लिइन्छ।