वर्ष : सन् १९६३
प्रतियोगिता : आगाँ खाँ गोल्डकप
स्थान : ढाकाको स्थानीय रंगशाला
नेपालको राष्ट्रिय फुटबल टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पूर्वी पाकिस्तान (हालको बंगलादेश) पुग्दा नेपालको खेल हेर्न रंगशालामा दर्शकको भीड खचाखच थियो।
नर शमशेर राणाको नेतृत्वमा गएको नेपाली टोलीमा १८ खेलाडी र ३ व्यवस्थापक समावेश थिए। तर, टोलीमा प्रशिक्षक थिएनन्। किनभने त्यतिबेलासम्म नेपालमा प्रशिक्षकबिना नै फुटबल खेल्ने गरिन्थ्यो।
त्यही पनि नेपाली टोली आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न निकै उत्साहित थियो। नेपाल स्थानीय चर्चित टिम ढाका वन्डरर्स विरुद्ध खेल्दै थियो।
नेपाल र ढाका वन्डरर्स विरुद्धको खेल हेर्न स्थानीय दर्शकको ओइरो लाग्नुको अर्को कारण थियो, उनीहरूले नेपालबाट गएको टिम नै ब्रिटिस गोर्खाको टिम सम्झिएका रहेछन्। पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खालीहरूको वीरगाथा पढेका बंगालीहरुलाई भान परेको रहेछ, नेपालीहरु फुटबलमा पनि खतरा छन् भन्ने। त्यसैले नेपालको खेल हेर्न रंगशालाबाहिर टिकटका लागि तँछाडमछाड नै भएको थियो।
बंगालीहरुको अपेक्षा विपरीत नेपाली टोली भने पहिलो अन्तर्राष्ट्रिय अनुभव बटुल्न ढाका पुगेको थियो। यति मात्र होइन, नेपाली टोली काठमाडौंमा २ दिनको सामान्य अभ्यास गरेर ढाका उडेको थियो। प्रतियोगिताका लागि पूर्वाञ्चल (विराटनगर र धरान) बाट ६ तथा बाँकी काठमाडौंबाट गरी खेलाडी छानिएका थिए।
बिनाप्रशिक्षण र छोटो अभ्यासका कारण नेपाली खेलाडीको एक–आपसमा राम्रो तालमेल मिल्न सकिरहेको थिएन।
यो प्रतियोगिताको अर्को रोचक पाटो थियो– काठमाडौंबाट उडेका १८ जना खेलाडीमध्ये एक जनाको जर्सी नै थिएन। ती खेलाडी थिए, अफताव उद्दिन।

सन् १९६३ मा आगाँ खाँ गोल्ड कप खेल्न गएको नेपाली टोलीका खेलाडीहरु।
अभ्यास क्रममा नेपालबाट गएका सबै खेलाडी जर्सी लगाएर मैदानमा उत्रिन्थे। तर, अफताव भने आफूले काठमाडौंमा खेल्दै आएको विद्या व्यायाम संघको जर्सी लगाएर मैदानमा देखापर्थे। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न ढाका पुगेको नेपाली टोलीमा अफतावसँग अर्को रोचक प्रसंग पनि जोडिएको छ।
त्यतिबेला नेपाल संसारभरि हिन्दु राष्ट्रका रुपमा चिनिएको थियो। तर, नेपाली टोलीमा अफताव मात्र यस्ता खेलाडी थिए, जो मुस्लिम थिए। यस्तै, इन्डोनेसिया मुस्लिम देश भए पनि यो टोलीमा एक जना हिन्दु खेलाडी समावेश थिए।
‘मलाई अहिले पनि अचम्म लाग्छ। हिन्दु देश भनेर चिनिने नेपाली टोलीमा म मात्र मुस्लिम खेलाडी थिएँ’, ५४ वर्ष अगाडिको कुरा सम्झिँदै नेपाल लाइभसँग रोमाञ्चित भए अफताव। अफतावलाई नेपालले ढाका वन्डरर्स विरुद्धको पहिलो खेलमा मैदानमा उतारेको थिएन। उनी अतिरिक्त खेलाडीका रुपमा बेन्चमा थन्किए।
नेपालले यो खेल ६–० ले गुमायो। ब्रिटिस गोर्खाको टिम भनेर खेल हेर्न आएका बंगाली दर्शक नेपालको खराब प्रदर्शनपछि मैदानमै स्तब्ध भए। ढाका वन्डरर्समा उमर मुसा जस्ता राष्ट्रिय खेलाडीको उपस्थिति थियो।
‘हाम्रो कोर्डिनेसन खराब थियो। ट्रेनिङबिनाको प्रदर्शन मैदानमै छताछुल्ल भयो’, ७५ वर्षीय अफताव भन्छन्।
नेपालले दोस्रो खेल वेस्टर्न रेल्वे (पाकिस्तान) विरुद्ध खेल्यो। त्यो खेलमा पनि अफताव अतिरिक्त खेलाडीकै रुपमा बेन्चमा थन्किए। नेपालले त्यो खेलमा पनि ७–० ले पराजित भयो।
दुई खेलको पराजयपछि ढाका वन्डरर्सकै प्रशिक्षकले नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए। उनको भनाइ थियो, नेपालको खेल राम्रो छ। तर, कोर्डिनेसन मिलेको छैन।
यसपछि भने नेपाली टोलीको खेलमा सुधार देखियो। ढाका पुलिस विरुद्धको तेस्रो तथा अन्तिम खेलमा भने अफताव डिफेन्डरका रुपमा मैदानमा प्रवेश गरे। त्यो खेल नेपालले १–० ले जित्यो। नेपालको तर्फबाट प्रकाशविक्रम शाहले गोल गरे।
नेपालले मैदानमै जितको खुसी मनायो। अफताव यतिबेला फेरि चर्चामा रहे।
‘मलाई सबैले लक्की खेलाडी माने’, उनी भन्छन्।
अफताव एनआरटी हुँदै ०२० सालमा विद्या व्यायाममा आबद्ध भएका थिए। यहीँबाट व्यावसायिक फुटबल खेल्ने क्रममा उनी आगाँ खाँ गोल्डकपका लागि राष्ट्रिय टोलीमा आबद्ध भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।