ललितपुर- जिल्लाका विषयगत कार्यालयका कर्मचारी समायोजन भएर आइरहे पनि ती कार्यालयका भवन नहुँदा ललितपुर महानगरपालिकामा भवन अभाव भएकाे छ।
कर्मचारी आइरहे पनि भवन पर्याप्त नहुँदा कर्मचारी व्यवस्थापन गर्न कठिन रहेको महानगरले जनाएको छ। महानगरपालिकाको क्षेत्रभित्र रहेका कुनै पनि विषयगत कार्यालयको भवन महानगर मातहतमा नआएको प्रवक्ता राजु महर्जनले बताए।
उनका अनुसार विषयगत कार्यालयबाट ५८ कर्मचारी समायोजन भएर आएका छन्। महानगरपालिकामा पहिले नै झण्डै ३ सय कर्मचारी कार्यरत थिए। एकातिर पहिलेबाट नै भवन अभाव रहेकामा महानगरमा नयाँ कर्मचारी आएपछि भवन अभाव अझै बढेको उनले बताए।
उनले भने, 'हामीले सम्बन्धित निकायसँग भवनका लागि माग गरिरहेका छौँ।' महानगरपालिकाको पुल्चोकस्थित मुख्य भवनबाहेक छ्याबहालस्थित समाज कल्याण भवन र पुल्चोकस्थित विपत् व्यवस्थापन भवन गरेर तीन वटा भवन रहेका छन्। ती तीन भवन मात्रै पर्याप्त नभएकाले थप भवनका लागि माग भइरहेको छ।
'अरु भवन पनि मातहतमा आएपछि नै कार्यसम्पादन सजिलो हुनेछ', उनकाे भनाइ थियाे। महानगरपालिकाका दश वटा वडामा कार्यालय भवन छैनन्। तीमध्ये पाँचमा गत वर्षदेखि निर्माण सुरु भइसकेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।