काठमाडौं- प्यूठानको स्वर्गद्वारी आश्रमका गाईबाट संकलित मुत्र प्रशोधन गरी औषधिको रूपमा बिक्री गर्न सुरु गरिएको छ।
स्वर्गद्धारी आश्रममा रहेका ३ सय ५० गाईबाट दैनिक ४० लिटर बढी मुत्र संकलन हुँदै आएको छ। संकलित मुत्रलाई प्रशोधन गरी ग्यास्ट्रिक, अल्सर तथा पेटका अन्य समस्यामा औषधीको रुपमा प्रयोग गर्न सकिन्छ।
झन्डै १ महिना अघिदेखि गौअर्घ्यका रुपमा प्रशोधित गाईको मुत्र बिक्री गर्न सुरु गरिएको आश्रमका पुजारी बाबुराम न्यौपानेले जानकारी दिए। गहुँत आठ/दश दिन राखि सकेपछि प्रशोधन प्रक्रिया सुरु गरिने न्यौपानेले जानकारी गराए।
गौअर्घ्य बनाउँदा जडिबुटीहरुको पनि मिसावट गरिएको छ। न्यौपानेका अनुसार हर्रोबर्रो र अमला मिसाउने गरिएको छ।
गाईको हेरचाह, घाँसपात तथा व्यवस्थापनका लागि करिब ३५ जना महिला पुरुष खटिएका छन्। गाईको हेरचाह गर्नका लागि दुई तिहाई महिला खटिएका छन्। दिउँसो चराउनको लागि तीन जना पुरुष खटाइएको छ। गाई हेरचाहका लागि मासिक पारिश्रमिक उपलब्ध गराउने गरिएको छ। कामदारहरुलाई खाने बस्ने व्यवस्था पनि मन्दिर व्यवस्थापन समितिले गरेको छ।
८० लिटर गाई मुत्रलाई उमालेर बाफ निकाल्दै पुरै प्रशोधित गर्दा ४० लिटर गौअर्घ्य उत्पादन हुने न्यौपानेले जानकारी दिए। गौअर्घको मूल्य प्रतिलिटर १ सय ५० रुपैया निर्धारण गरिएको छ। सुरुवातको चरण भएकाले विस्तारै बिक्रीदर बढेको जनाइएको छ।
गहुँत प्रशोधनका लागि भारतबाट मेसिन ल्याइएको छ। गहुँत प्रशोधनका लागि मन्दिर व्यवस्थापनले प्रक्रिया सिक्नका लागि एक युवालाई अध्ययन गर्न पठाएको थियो। एकै स्थानमा खन्याइएको गहुँतलाई वाष्पीकरण गरि तरल झर्ने गरि मेसिन जडित छ।
स्थानीय गाईहरू मात्रै पालन गरिने स्वर्गद्धारीमा छोडुवा गाईहरू भने पालन नगरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ। सांढेहरुलाई भने छुट्टै स्थानमा राखि रेखदेख गर्ने व्यवस्था मिलाइएको छ। पालित गाईहरुको लागि घाँसको समस्या भएको न्यौपानेले जानकारी दिए। दैनिक ६ क्विन्टल दाना खर्च हुने गरेको छ। दाताहरु तथा दर्शनार्थीहरुको सहयोगले गाईपालनमा सहयोग पुगेको छ।
उत्पादित दूधलाई मन्दिरको पुजाको लागि खर्चिने गरिएको छ। साथै, ध्यु आवश्यक पर्ने हुनाले दूध मन्दिरमै खपत हुने गरेको छ।
आश्रममा एक सय घनमिटरको गोबर ग्यास प्लाण्ट भएपनि चिसोका कारण पुरै क्षमतामा संञ्चालन हुन भने सकेको छैन।
गाईलाई कुँडोपानी खुवाउन सजिलो होस् भनेर वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको सहयोगमा आश्रममा सोलार पनि राखिएको छ। सोलार उर्जाका लागि योजना आयोगका पूर्वाध्यक्ष डा गोविन्द पोखरेलले पहल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।