नवलपरासी- पश्चिम नवलपरासीको रामग्राम–१०, नदवामा गएराति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
रोकिराखेको युपी६५बिपी ३९११ नम्बरको भारतीय ट्रकमा पछाडिबाट लु७प १३१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइल चालक पश्चिम नवलपरासी रामग्राम–१६, हकुई बस्ने २६ वर्षीय रमेश यादवको उपचारको क्रममा मृत्यु भएको हो।
यादवको उपचारको क्रममा जिल्ला पृथ्वी चन्द्र अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परी सोही स्थानका २२ वर्षीय रामकृण्ण कहाँर घाइते भएका छन्। दुर्घटना परासी–भैरहवाअन्तर्गत हुलाकी सडकमा भएको हो।
यसैबीच गएराति करीब १२ बजेतिर दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
लमही नगरपालिका–७ बनघुस्रीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ९१६७ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा३प ७९५ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त घटना घटेको हो।
दुर्घटनामा परी लमही नगरपालिका–७, उचानिम्बु बस्ने २२ वर्षीय लालु चौधरीको मृत्यु भएको छ। चौधरीको दाङको लमही अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए।
चौधरीसँगै मोटरसाइकलमा सवार १६ वर्षीय आशिष चौधरी र लमही नगरपालिका–३ मजगाउँ बस्ने १३ वर्षीय प्रकाश घर्तीमगरलाई थप उपचारको लागि बाँकेस्थित मेडिकल कलेज कोहलपुर पठाइएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।