कटारी- उदयपुरको बेलका नगरपालिका-७, मैनामैनी कुलुङमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
गएराति सुनसरी बराहक्षेत्र नगरपालिका चतराबाट बेलका नगरपालिका मयामतर्फ जाँदै गरेको को१ज १६१५ नम्बरको पिकअप गाडी दुर्घटना हुँदा बेलका नगरपालिका-७, मैनामैनीका अन्दाजी २३ वर्षीय मनोज राईको घटनास्थलमै मृत्यु भएको हाे।
दुर्घटनामा गम्भीर घाइते बेलका-७, मैनामैनीका २७ वर्षीय अम्बर राई र बेलका-८ की ३५ वर्षीया चरकुमारी राईको धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए। उनका अनुसार अम्बरको हात र छातीमा चोट लागेको छ भने चरकुमारीको टाउकोमा चोट लागेको छ।
बेलका-७ की ३२ वर्षीय पिपल कुमारी राई सामान्य घाइते भएका छन्। घाइतेहरुको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेकाे छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।