काठमाडौं– नेपाली युवा क्रिकेट टिम अफगानिस्तानविरुद्ध लगातार पाँचौं खेलमा पराजित भएको छ।
शुक्रबार मलेसियामा भएको एसिसी यू–१९ एसिया कपको सेमिफाइनलमा अफगानिस्तानसँग ७ विकेटले पराजय भएको नेपालले ६ वर्षदेखिको हारको शृंखला रोक्न सकेन।
नेपालले सन् २०११ यता अफगानिस्तानलाई हराउन सकेको छैन। २०११ मा आइसिसी यू–१९ विश्वकप छनोटमा नेपालले अफगानिस्तानलाई ६ विकेटले हराएको थियो। त्यसपछि नेपालले ६ वर्षमा ५ खेल खेल्यो। पाँचै खेलमा नेपाल पराजित भयो। सन् २०१७ मा नेपाल र अफगानिस्तानबीच तीन खेल भए। तीनै खेलमा नेपालले लज्जास्पद हार बेहोर्यो।
नेपाल र अफगानिस्तानको युवा टिमबीच हालसम्म १० खेल भएको छ। जसमा अफगानिस्तानले ७ खेलमा जित निकाल्दा नेपाल ३ खेलमा मात्र विजयी भएको छ।
मुख्य समस्या ब्याटिङ
समूह चरणमा भारतलाई पराजित गरेर तारिफ बटुलेको नेपाल अफगानिस्तान विरुद्धको खेलमा ब्याटिङमा कमजोर देखियो। किनरारा ओभलमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपाल २२ ओभर खेल्न बाँकी छँदा १ सय ३ रनमै आउट भयो। नेपालका लागि एक जना मात्र ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सके। अनिलकुमार साहले ५० रन जोडे। अन्य १० ब्याट्यम्यानले कुल योगफल ३९ रन मात्र जोड्न सके।
यो पनि : यू–१९ एसिया कप : नेपालको फाइनल पुग्ने लक्ष्यमा अफगानिस्तान फेरि बाधक
नेपालका प्रशिक्षक विनोद दासले नेपाल कमजोर ब्याटिङकै कारण पराजित हुनुपरेको बताए। दासले नेपाली ब्याट्सम्यानले योजना अनुरुप खेल्न नसकेको बताए। दासले भने, 'अनिल साहबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्। झिनो योगफलमा समेटिँदा हामीले अफगानिस्तानलाई रोक्न सक्ने सम्भावना कम थियो।'
चार महिनाअघि सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा पनि नेपालले कमजोर ब्याटिङ गर्दा अफगानिस्तानसँगको दुवै खेलमा पराजित हुनुपरेको थियो। जसको कारण नेपाल विश्वकपमा छनोट हुन सकेन। पहिलो खेलमा नेपाल ४९ रनमा अलआउट भएको थियो। अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको नेपाली युवा टिमका पवन सर्राफले मात्र दोहोरो अंकमा रन बटुलेका थिए।
दोस्रो खेलमा पनि नेपाल ९९ रनमा अलआउट भयो। अफगानिस्तानले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभरसम्म मात्र ब्याटिङ गर्न सक्यो।
यू–१९ मा नेपाल-अफगानिस्तानबीच अहिलेसम्मका १० खेल
१. यू–१९ एसिया कप २०१७ : अफगानिस्तान ७ विकेटले विजयी
२. आइसिसी यू–१९ विश्वकप छनोट, २०१७ : अफगानिस्तान ९६ रनले विजयी
३. आइसिसी यू–१९ विश्वकप छनोट, २०१७ : अफगानिस्तान १४१ रनले विजयी
४. एसिसी यू–१९ प्रिमियर, २०१५ : अफगानिस्तान १० विकेटले विजयी
५. एसिसी यू–१९ प्रिमियर, २०१४ : अफगानिस्तान ५ विकेटले विजयी
६. आइसिसी यू–१९ विश्वकप छनोट, २०११ : नेपाल ४२ रनले विजयी
७. एसिसी यू–१९ इलाइट कप फाइनल, २०११ : अफगानिस्तान ६१ रनले विजयी
८. एसिसी यू–१९ इलाइट कप, २०११ : नेपाल ६ विकेटले विजयी
९. एसिसी यू–१९ इलाइट कप, २००९ : अफगानिस्तान ६ विकेटले विजयी
१०. एसिसी यू–१९ इलाइट कप फाइनल, २००७ : नेपाल ४८ रनले विजयी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।