काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताएका छन्।
महानिरीक्षक खनालले आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताएका हुन्। 'ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र र शालिन हुनुपर्छ, हाम्रो सेवाले जनतालाई मुस्कुराउँदै जाने वातावरण बनाउनुपर्छ', उनले भने।
महानिरीक्षक खनालले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताले मनोबल बढेको भन्दै अझै राम्रो सेवा प्रदान गर्न आग्रह गरे।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले तीन महिने कार्ययोजना बनाएर काम गरिरहेको बताए।
हाल काठमाडौं उपत्यकामा १ हजार ५ सय हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन्। यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारी साधन तथा काठमाडौं उपत्यमामा मात्र ११ लाख सवारी साधन चल्ने गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।