काठमाडौं– प्रधानसेनापति पाँचौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुक्रबारदेखि राजधानीमा सुरु भएको छ।
नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा दस टिम सहभागी छन्। प्रतियोगितामा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका विभागीय टिम, पाँच विकासक्षेत्रका महिला फुटबल टिम र भारतको सिक्किम महिला फुटबल टिम र विहार महिला फुटबल टिमको सहभागिता छ।
प्रतियोगिता सेनाको जंगी अड्डा तथा लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको मैदानमा मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ।
उद्घाटन दिनको खेलमा सेनाको त्रिभुवन आर्मी महिला फुटबल टिमले पश्चिमाञ्चल महिला फुटबल टिमलाई १२–० को विशाल अन्तरले पराजित गरेको छ। सो खेलमा ७ गोल गरेकी आर्मीकी कृष्णा खत्री उत्कृष्ट खेलाडी घोषित भइन्।
लगनखेलको मैदानमा भएको अर्को खेलमा नेपाल प्रहरीको टिमले मध्यपश्चिमाञ्चललाई १२-० गोलले नै हरायो। सो खेलमा व्यक्तिगत ४ गोल गरेकी नेपाल प्रहरीकी निर्मला विक उत्कृष्ट घोषित भइन्।
प्रतियोगितामा सबै खेलहरु नक आउटका आधारमा खेलाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।