काठमाडौं– एसिसी यू–१९ एसिया कपको सेमिफाइनलमा अफगानिस्तानसँग ७ विकेटले पराजित भएपछि नेपालको फाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन। पहिलो पटक सेमिफाइनलमा पुगेको नेपालले कमजोर ब्याटिङ गर्दा हार बेहोर्नुपर्यो।
समूह चरणमा भने नेपालले उत्कृष्ट खेल पस्कियो। भारतीय युवा टिमलाई १९ रनले पराजित गरेको नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो। बंगलादेशलाई कडा चुनौती दिएको नेपाली टिम अन्तिम ओभरमा १० रन रोक्न नसक्दा पराजित भएको थियो। नेपाली टिमका प्रशिक्षक विनोद दासले नेपालले समग्रमा राम्रो खेलेको प्रतिक्रिया दिएका छन्। तर अफगानिस्तानसँग खराब ब्याटिङ गरेकाले पराजित हुनुपरेको उनले बताए।
प्रशिक्षक दासको प्रतिक्रिया यस्तो छ:
हामीले आज योजना अनुरुप खेल्न सकेनौं। सबै पक्षमा हामी कमजोर देखियौं। अनिल साहबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्। झिनो योगफलमा समेटिँदा हामीले अफगानिस्तानलाई रोक्न सक्ने सम्भावना कम थियो। प्रतियोगिताको दु:खद् अन्त्य हुँदा निराश छौं।
समग्र प्रतियोगितामा हामीले धेरै सकारात्मक कुरा सिकेका छौं। सेमिफाइनलमा पहिलो पटक पुग्नु सफलता हो। यसमा हामीले गर्व गर्नुपर्छ। हामीले भारतलाई पराजित गर्यौं। बंगलादेशलाई पनि कडा चुनौती दिन सफल भयौं। समग्रमा हामीले राम्रो प्रदर्शन गरेका छौं। प्रतियोगिताको नतिजाबाट सन्तुष्ट छौं। आगामी दिनमा हामीले अझै राम्रो गर्न सक्नेछौं । क्रिकेटको आधिकारिक निकाय गठन भएपछि त्यहाँबाट पनि क्रिकेटलाई राम्रो हुनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।