काठमाडौँ– गत चैत १५ र १६ गते आयोजना भएको लगानी सम्मेलनमा पस्तुत भएका ७७ वटा परियोजनामध्ये आइतबारसम्ममा लगानीकर्ताहरुबाट २६ वटा परियोजनामा ४३ वटा आवेदन प्राप्त भएका छन्।
त्यस्तै, आह्वान नगरिएका थप ५ वटा आयोजनामा पनि पनि आवेदन प्राप्त भएको लगानी बोर्डले जनाएको छ।
यसरी आवेदन प्राप्त भएका परियोजनाको अनुमानित लागत २५ खर्ब रुपैयाँ बराबर रहेको बोर्डले जनाएको छ।
लगानी सम्मेलनमा सरकारका तर्फबाट ५० र निजी क्षेत्रबाट २७ वटा परियोजना प्रस्तुत गरिएका थिए। प्रस्तुत गरिएका परियोजनाहरु कृषि, पूर्वाधार, स्वास्थ्य तथा शिक्षा पूर्वाधार, उर्जा पूर्वाधार, उद्योग पूर्वाधार, यातायात पूर्वाधार तथा सहरी पूर्वाधार रहेका छन्।
हालसम्म कृषि पूर्वाधारका ५ वटा परियोजनामा ७ वटा आवेदन परेका छन्। त्यस्तै स्वास्थ्य तथा शिक्षा पूर्वाधारका २ परियोजनामा २ वटा, उर्जा पूर्वाधारका ७ वटा परियोजनामा ८ वटा, उद्योग पूर्वाधारका १ परियोजनामा एउटा, पर्यटन पूर्वाधारका ३ वटा परियोजनामा ३ वटा, यातायात पूर्वाधारका ९ परियोजनामा २२ वटा र सहरी पूर्वाधारका ४ परियोजनामा ५ वटा आवेदन परेका छन्।
बोर्डका अनुसार सबैभन्दा बढी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा लगानीका लागि ६ वटा र काठमाडौं उपत्यका बाहिरी चक्रपथका लागि ४ वटा आवेदन प्राप्त भएका छन्।
पहिलो चरणमा २७ परियोजनाका लागि ३ महिनाभित्र विकासकर्ता छनोट गरिसक्ने तयारी लगानी बोर्डको छ। त्यस्तै, दोस्रो चरणमा १७ परियोजना ९ महिना र तेस्रो चरणमा ६ परियोजनका लागि १४ महिनाभित्रमा विकासकर्ता छनोट गर्ने जनाएको छ ।
प्राप्त आवेदनको मूल्यांकन तथा सम्मेलनमा भएका सम्झौताको कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ।
प्रस्तावहरूको मूल्याङ्कन तथा अनुगमन भएका समझदारी र संयुक्त लगानी सम्झौताको कार्यान्वयनको अनुगमन यस समितिले गर्नेछ।
लगानी बोर्डको ३७औं बोर्ड बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको आर्थिक तथा पूर्वाधार विकास हेर्न सचिवको संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लगानी बोर्डका एक–एक जना सहसचिवहरु रहने गरी समिति गठन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।