जनकपुर– धनुषामा एक दलित महिलामाथि गाउँकै केही पुरुषहरु मिलेर चरम शारीरिक यातना दिएका छन्। शनिबार राती मधेसी दलित समुदायकी एक महिलालाई केही पुरुषहरु मिलेर कुटपिट गर्नुको साथै कपाल मुण्डन गरी यातना दिएको छ।
जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना बस्ने अन्दाजी वर्ष ३४ की स्थानीय एक मुसहर समुदायकी महिलालाई त्यही टोल कै केही पुरुषहरुले मिलेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।
अहिले पीडित महिला सहित उनको घर परिवार तनावमा रहेको छ। पीडित महिलाले आफूमाथि ठूलो अन्याय भएको बताएकी छिन्। उनले भनिन्, ‘म काम सकेर शनिबार साँझ घर आउन नपाउँदै तिनिहरु जाइलागे। एक्कासी पीडकहरु आएर यसले समाजलाई बिगार्न खोजेको भन्दै कुटपिट गर्दै लछापछार गरी मेरो कपालमा छुरा चलाई दिए।’
गाउँलेहरुका अनुसार सदा समुदायमा महिलाहरुले पनि मदिरा सेवन गर्ने गर्छन्। ती महिलाले पनि अत्यधिक मदिरा खाने गरेकी थिइन्। सोही कारण छिमेकीहरुले कुटपिट गरी कपाल मुण्डन गरेको बताइएको छ। उनीहरुको अनुसार जहिले पनि उक्त महिला अबेर राती घर आउने गरेकोले उनि माथि समाजिक विकृति फैलाउन खोजेको आरोप समेत लगाउने गरिन्थ्यो।
त्यसरी दुव्र्यवहार गर्नेमा पनि सदा समुदायकै पुरुषहरु हुन्। पीडित महिलाको अनुसार आफूले ज्याला मजदुरी काम गर्ने गरेको हुँदा घर आउँदा ढिला हुने गर्छ।
यसरी कुनै महिला माथि कपाल मुण्डल सहित दुव्र्यवहार हुनुे गम्भिर मानव अधिकार उल्लघंन भएको मानव अधिकार क्षेत्रमा कार्य गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का प्रदेश २ संयोजक राजु पासवानले बताए। उनले घटनामा संलग्नमाथि कडा कारबाहीको मागसमेत गरे।
धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले गाउँले मिलेर महिलामा सामूहिक कुटपीट गरेको बताए। ‘गाउँलेहरु मिलेर कपाल मुण्डन गरी कुटपिट गरेका हुन्। शनिबार राति भएको सो घटना आइतबार मात्र सार्वजनिक भएपछि प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको छ।’
पक्राउ पर्नेहरुमा स्थानीय ४० वर्षीय रामदुलार सादा, २८ वर्षिय रामविनय सादा, ३७ वर्षिय हरिराम सादा, ३५ वर्षिया लुचवा सादा, ४१ वर्षिय शिवचरण सादा, ३५ वर्षिय राजवीर सादा, ३६ बर्षिय रन्जित सादा र १९ वर्षिय सन्तोष सादा रहेका छन् उनिहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिगएको टोलीले पक्राउ गरेको हो।
सो घटनामा पक्राउ परेकाहरुलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गराइ अभद्र व्यवहार गरेको घटनामा जाहेरी दर्ता भएको जनाएको छ ।
२१ औं शताब्दीमा पौराणिक सोंच र अन्धविश्वासमा पलाइरहेको समाजले एक दलित महिलालाई अभद्र आरोप लगाउँदै कपाल मुण्डन गरिदिएको तथा कुटपिट समेत गरेको जानकारी पाएलगत्तै जिल्ला प्रहरीको टोलीले तत्कालै महिलालाई उद्धार गरी घटनामा संलग्नहरुलाई पक्राउ गरिएको एसपी खनालले जानकारी दिए ।
सो घटनामा पक्राउ परेकाहरुलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गराइ अभद्र व्यवहार गरेको घटनामा जाहेरी दर्ता भएको जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।