–शर्मिला पाठक/रासस
काठमाडौं- काठमाडौं 'भ्यू टावर' (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षाअनुरुप अघि बढ्न नसकेपछि काठमाडौं महानगरपालिकाले एक वर्ष समय थप गरेको छ।
निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि हालसम्म जमिनमुनिकै काम गरिरहेकाले ठेकेदारको माग अनुरुप समय थप गरिएको कामपाले जानकारी गराएको छ।
निर्माणको कामअन्तर्गत अहिले जमीनमुनिको काम भइरहेको छ। जमिनमुनिको ८० प्रतिशत काम सकिएपनि अन्य काम सुरु नै हुन नसकेको कामपा सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख ध्रुव काफ्ले बताउँछन्। उनका अनुसार आवश्यकता अनुरुप एक वर्षको समय थप गरिएको हो।
भूमिगत तलाको काम अन्तिम चरणमा पुगेको छ। प्राइभेट–पब्लिक पार्टनरसिप (पिपिपी)मोडलबाट निर्माण सुरु गरिएकाे यस भ्यू टावरको उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए।
'नियमअनुसार निर्धारित समयमा नै काम नसकेमा एक पटक समय थप्न मिल्छ', कामपा सार्वजनिक निजी साझोदारी एकाइ प्रमुख काफ्लेले भने। स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोइले २०७३ साउनबाट निर्माणको काम सुरु गरेको हो। सुरु गरेको मितिले अहिलेसम्म हुनुपर्ने जति कामको प्रगति नदेखिएपनि पछिल्लो समय तीव्र रुपमा काम भइरहेको र यसरी नै काम हुने भए थप गरिएको समयका काम सकिनेमा कामपाले विश्वास लिएको छ।
सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन्। काफ्लेले भने, 'स्तम्भ निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन। अहिलेभने काम भइरहेको छ।' उनले निर्माण कम्पनीले कामपालाई सुरुको समयदेखि नियमित रुपमा बुझाउनुपर्ने सम्झौता रकम भने दिइरहेको छ। उक्त कम्पनीले वार्षिक ९८ लाख रुपैयाँ कर कामपालाई बुझाउँदै आएको छ।
गोरखा भूकम्प पूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो। भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेछ। स्तम्भ निर्माणको लागत ३ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङस्थल रहनेछ। त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङस्थल, व्यवस्थित चलचित्र घर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन्। स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ। सो अग्लोघर नेपाली कलासंस्कृति झल्किने खालको हुनेछ।
कूल क्षेत्रफलको ४० प्रतिशत भू-भागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ। ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजना छ।
कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार निर्माणपछि कम्पनीले वार्षिक २ करोड ३५ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ। यो वार्षिक २ दशमलब ५ प्रतिशतका दरले बढ्दै जान्छ।
तीन वर्षदेखि निर्माण सुरु गर्ने योजनाले गर्दा बस बिसौनीबाट आवतजावत गर्ने सवारी साधनलाई खुला मञ्चमा सारिसकिएको छ। बस बिसौनी जस्तो फराकिलो नभएको हुँदा मानिस खुला मञ्चमा खुम्चिएर आवतजावत गर्न बाध्य भएका छन्। आगामी दिनमा काठमाडौं उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु निर्माणाधीन दृश्यावलोकन स्तम्भमा निर्माण हुने बस बिसौनीबाट आवतजावत गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।