राइतड भन्ने ठाउँमा एकखुट्ट नाउँको एउटा दानव बस्ने गर्थ्यो। ऊ त्यहाँ आउने जाने बटुवाहरूसँग भीरको बाटोमा राम्ररी कुराकानी गरेर आफ्नो घरको सबै कुरा पनि बताउने गर्थ्यो। अन्त्यमा उनीहरूलाई भीरबाट फालेर मारिदिन्थ्यो। तिनको मासु खान्थ्यो र पछि उनीहरूको घरमा गएर उनीहरूको परिवारलाई पनि खाइदिन्थ्यो। उसको डरले कोही पनि एक्लैदोक्लै राइतडको बाटोबाट हिँड्दैनथे।
राइतड गाउँमा एउटा उजल्या भन्ने मानिस पनि बस्ने गर्थ्यो। उसले एकखुट्टे राक्षसको कुरा सुनेको थियो। यसैबीच ऊ एकचोटि माल (मधेस) जाने भनी त्यही भीरको बाटोबाट एक्लै जाँदै थियो। हिँड्दाहिँड्दै बाटामा उसले एक जना अचम्मको मानिस देख्यो। त्यो मानिस भैरव भूतजस्तै मोटो थियो, खुट्टा भने एउटा मात्रै थियो ।
यो कस्तो मानिस रहेछ भनेर राम्ररी ठम्याउन नपाउँदै त्यो एकखुट्टेले भन्यो, ‘ए बटुवा, ममाथि दया गर, म डुँडो छु। हात समातेर मलाई भीर तारिदेऊ। धर्म पनि होला, तेरो पुत्र बाँचिरहला।’
उजल्याले साह्रै दया लागेर सोध्यो, ‘यो उमेरमा पनि तेरो यो गति कसरी भयो?’
धेरै दीन भएर एकखुट्टेले जवाफ दियो, ‘के गरुँ दाइ, पूर्वजन्मको कमाइ हो, पूर्वजन्मको पाप हो। कसैको खुट्टा भाँचे हुँला, त्यसैले आज यो भुक्तमान भोग्दैछु।’
उजल्यालाई त्यसको कुरा सुनेर दया लाग्यो। उसले त्यस एकखुट्टेको हात समात्यो र डोर्याएर हिँड्यो । भीरको बाटो उबडखाबड थियो। जस्तोतस्तो मानिसले त त्यो भीर पार गर्न सक्दैनथ्यो। त्यस्तो ठाउँमा डोर्याएर बाटो कटाइदिने उजल्याको गुणगान त्यो एकखुट्टेले खुबै गर्यो र धेरै मीठामीठा कुरा गरेर उसलाई मख्ख पार्यो। उसको घरको सबै नालीबेली पनि सोध्यो।
जोडले चिच्याउँदै एकखुट्टेले भन्यो, ‘हे शत्रुका छोरा, तैंले मलाई कुकुरका दारा जस्ता तिखा ढुंगाहरूमा फालेर लडाइस्, पख, यसको बदला म नलिई कहाँ छाडुँला! पख, आउलास् घरमा!’
उजल्याले पनि आफ्ना सबै कुरा बतायो। आफ्नो एकलासको घर, भर्खरकी स्वास्नी धौली र तीन चार वर्षको छोरा जग्गुलाई छाडेर मधेसबाट भाँडाकुँडा, नुन, लत्ताकपडा ल्याउन आफू हिँडेको कुरा भनिनसक्दै बाटोमा एउटा बिछट्ट भीड देखापर्यो। त्यो भीड देखेर अब यो डुँडोलाई कसरी तारौं भनेर उजल्या सोच्न लाग्यो।
उजल्या रोकिएको देखेर एकखुट्टे भन्न लाग्यो, ‘तैंले डर मानिस् कि क्या हो, पख् म अगाडि लाग्छु, तँ मेरो हात समात्।’
उजल्याले तिमी एकखुट्टे मानिस कसरी अगाडि हिँड्छौ भनेर सोध्दा हेर म कसरी हिँड्छु भनी एकखुट्टेले हिँडेर देखाएपछि उजल्याको मनमा शंका उब्जियो।
त्यतिबेलासम्ममा सटपट भित्तातर्फ पिठ्यूँ अड्याएर हातले पछाडिपट्टिको भीरमा समातेर एकखुट्टेले उजल्यालाई भीरमा फाल्ने जमर्को गरिसकेको थियो। तर, उसले फाल्नुअघि नै उजल्या सतर्क भई पेटमा एक लात हानेर एकखुट्टेलाई नै भीरमा खसालिदियो र एकखुट्टे फर्सी लडेजस्तै बल्ड्याङबल्ड्याङ गर्दै भीरमा खुर्मुरियो।
जोडले चिच्याउँदै एकखुट्टेले भन्यो, ‘हे शत्रुका छोरा, तैंले मलाई कुकुरका दारा जस्ता तिखा ढुंगाहरूमा फालेर लडाइस्, पख, यसको बदला म नलिई कहाँ छाडुँला! पख, आउलास् घरमा’ र अन्त्यमा ठूलो स्वरले नदीका रोडा ढुंगाहरूमा बजारिन पुग्यो।
एकखुट्टे शत्रुलाई भीरमा फालेपछि उजल्या सरासर आफ्नो बाटो लाग्यो। एकखुट्टेले दल्सिङ ढुंगा फोरेर आफ्नो आङमा दल्यो। अलिबेरमै उसको आङमा लागेका घाउ नि ठीक भैहाले। ऊ अब जस्ताको तस्तै ठीक भएर उजल्याको घरतर्फ हिँड्यो।
हिँड्दाहिँड्दै एकखुट्टे उजल्याको गाउँमा पुग्यो। एक्लो घर भएको हुनाले उजल्याकी स्वास्नी धौलीले चाँडै खाना खाएर ढोका लगाइसकेकी थिई। त्यसै पनि बेलुकाको खाना खाने बेला भइसकेको थियो। धौली बिस्तरा लगाएर पल्टिसकेकी थिई। काखमा सुतेको उसको छोरा जग्गु आमा कथा हाल भनेर भनिराखेको थियो। ऊ पनि नौलाहितुको कथा भन्दै थिई।
यसैबीच सिँढीमा मालसामानले भरिएको डोको बिसाएको जस्तो धम्मको आवाज आयो। त्यतिबेलासम्म उजल्याले बोलेको जस्तो पनि सुनियो। धम्मधम्म तामाको भारी। यो सुनेर धौली हतारहतार उठी, ढोका उघारी। बाहिर निष्पट्ट अँध्यारो भइसकेको थियो। छामछुम गरेर डोको उठाउन लागी। एक्लैले उठाउन सकिन र दुवैले मिलेर डोको माथिल्लो तलाको चाक्लो ठाउँमा राखे।
यत्तिकैमा विश्वास दिलाउनका लागि एकखुट्टले सुतेकी थियौ कि नानी गज्जु भन्यो। जग्गु भन्नुपर्नेमा जग्गुको ठाउँमा उल्टो नाउँ गज्जु भनेको सुनेर जग्गुलाई पनि यो मेरो बाबु होइन भन्ने शंका पर्न गयो। त्यसैले ऊ बोलेन।
शंका त धौलीको मनमा पनि परिसकेको थियो । गरोस् त के गरोस् । नजानेजस्तो गरेर तैपनि बोल्न लागी, ‘सुत्यो होला। नत्र यतिको बेलासम्म कसरी अडिन सक्थ्यो र?’
धौलीले भित्र गएर चुलोमा आगो फुकी। सिटा बाली। उसले उज्यालोमा पनि हेरी, उस्तै-उस्तै उजल्याको जस्तै अनुहार देखी। अब मन काम्न लाग्यो तैपनि उसले आफ्नो होश हराइन।
‘के हो आज त सिटा बालेर राम्ररी हेर्न लागेकी छस्। भोक लागेको छ। केही रोटीका टुक्राटाक्री छ ? ले न, लिएर आ त’, एकखुट्टेले भन्यो।
‘पानी तताएकी छु, पहिले हात खुट्टा धोइहाल्नुहोस्’, धौलीले भनी।
‘ले त धोइदे’, भनेर एकखुट्टेले भन्यो।
धौली पानी ल्याएर खुट्टा धुन लागी। एउटा खुट्टा धोएर अब अर्को खुट्टा ल्याऊ भनेर धौलीले भनेपछि खुट्टा नदिँदै धौलीको शरीर झमझम भैहाल्यो। डर, भय केही मान्दै नमानी एकखुट्टेले भन्यो, ‘अर्को खुट्टा कहाँ थियो र मेरो।’
सुतेको बहाना गरी पल्टेको जग्गुले पनि यी सबै कुरा सुनिरहेको थियो। रुँदैरुँदै उठेर भन्न लाग्यो, ‘आमा म बाहिर जान्छु।’
‘गज्जु हिँड’, एकखुट्टेले भन्यो।
‘हुन्न आमा’, जग्गु करायो।
‘होइन, म जान्छु’, एकखुट्टेले फेरि फकायो।
‘होइन, आमा तिमी हिँड’, जग्गुले फेरि रुँदै भन्न लाग्यो।
‘यो मान्दैन, छाड्नुहोस्’, भन्दै धौलीले जग्गुको पाखुरा समाती र निस्की हाली। एकखुट्टे पनि पछिपछि लाग्यो। धौली बच्चालाई लिएर हतारहतार गोठमा पसी।
‘कहाँ गइस् बाबु गज्जु’ भन्दै एकखुट्टे पनि गोठभित्र नै पस्न लाग्यो। ढोकामा नै रौल्या र पौल्या नाउँ गरेका दुइटा गोरु बाँधेका थिए। तिखा सिङ भएका यी गोरुहरू नचिनेको मानिस देखेपछि टाढैबाट नै हान्न दगुर्थे। एकखुट्टे गोठभित्र पस्न खोज्दा यताबाट रौल्याले फुँ गरेर तिखा सिङले एकखुट्टेको पेटमा हान्यो र आन्द्राभुँडी बाहिर निकालिदियो।
अर्कोतर्फबाट पौल्याले पनि सिङले हानेर एकखुट्टेको कलेजो समेत सिङमा झुन्ड्याएर ल्यायो। एकखुट्टे लम्पसार पर्यो र आँखा फर्कायो। बिचरोले धित मरुन्जेल रुन पनि पाएन।
यसरी आफ्नो बुद्धि र साहस कायम राखेर धौलीले एकखुट्टे दानवलाई मारी। यसले सबै मानिसहरूको पनि भलो भयो। केही दिनमै घर आइपुगेपछि यो कुरा सुनेर उजल्या पनि खुसी भयो। रैताडतिर जाने मानिसहरू पनि निर्धक्क भए।
(बैतडीको मध्यभागतिर प्रचलित लोककथा। बहुभाषिक पत्रिका ‘सयपत्री’, २०५८ बाट साभार।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।