काठमाडौँ- सरकारले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान(आईएफए)को कार्यकारी निर्देशकमा सशस्त्र प्रहरीका पूर्वआइजीपी राजेश श्रेष्ठलाई नियुक्त गरेको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार हालै बसेको मन्त्री परिषद्को बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
सन् १९९३ मा परराष्ट्र मन्त्रालय अन्तर्गत स्थापना भएको आईएफएले परराष्ट्र मामिलामा सरकारी ‘थिंक ट्यांक’का रुपमा काम गर्दै आएको छ।
तत्कालीन कार्यकारी निर्देशक प्राध्यापक पन्नालाल अमात्यको निधनपछि एक वर्षदेखि नेतृत्व विहीन बनेको आईएफएको कार्यकारी निर्देशकका लागि तीन पूर्व अवकाश प्राप्त सुरक्षा अधिकारीको नाम छनौंट गरिएको थियो।
परारष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी नेतृत्वमा बनेको छनौट तथा सिफारिस समितिले सेनाका पूर्वउपरथीहरु जगदिश चन्द्र पोखरेल र देवेन्द्रबहादुर मधेसी र सशस्त्र पूर्व प्रमुख श्रेष्ठको नाम सिफारिस गरेको थियो।
समितिले सिफारिस गरेका तीन जनाको नाम मन्त्रालले मन्त्री परिषद्मा पठाएको थियो। मन्त्रिपरिषद्ले तीन जनामध्ये श्रेष्ठलाई निर्देशकमा नियुक्त गरेको हो।
मन्त्रालयले केही समयअघि निर्देशकका लागि इच्छुकलाई आवेदन दिन आह्वान गरेको थियो।
अन्तर्राष्ट्रिय कानुन, कुटनीति तथा आर्थिक कुटनीतिमा कम्तिमा पनि १० वर्ष काम गरेको अनुवभ भएका र ६० वर्ष ननाघेकाले आवेदन दिन सक्ने बताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।