काठमाडौं– एसिसी यू–१९ एसिया कपमा पहिलो पटक सेमिफाइनलमा पुगेको नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।
मलेसियाको किनरारा ओभलमा हुने खेलमा नेपालले अफगानिस्तानलाई ६ वर्षपछि पराजित गर्ने लक्ष्यसहित खेल्नेछ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिम उच्च मनोबलमा छ। समूह चरणको खेलमा नेपालले साविक विजेता भारतलाई १९ रनले हराएको थियो भने मलेसियामाथि ८ विकेटको सानदार जित निकालेको थियो।
उच्च फर्ममा रहेका कप्तान दीपेन्द्रसिंह ऐरीबाट नेपालले अफगानिस्तान विरुद्धको खेलमा पनि आशा गरेको छ। मलेसियामा स्पिनर हावी भएकाले नेपालले सन्दीप लामिछाने, साहब आलम र पवन सर्राफलाई हतियार बनाउनेछ।
अफगानिस्तान प्रतियोगिताको बलियो टिम हो। पहिलो खेलमा पाकिस्तानलाई ५७ रनमा अलआउट गर्दै अफगानिस्तानले उत्कृष्ट बलिङको नमुना प्रस्तुत गरेको थियो। खेलमा अफगानिस्तानले ७ विकेटको जित निकालेको थियो।
यो पनि- यू–१९ एसिया कप : नेपालले रोक्नुपर्ने अफगानिस्तानका दुई खेलाडी
यस्तै, युएई विरुद्ध अफगानिस्तानले २० ओभरमा घटाइएको खेलमा २ सय २४ रन जोड्दै ब्याटिङमा आफ्नो क्षमता देखायो। अफगानिस्तानका दर्विस अब्दुल रसूल र स्पिनर मुजिव उर रहमान उत्कृष्ट लयमा छन्।
अफगानिस्तानको खेलअघि नेपालका प्रशिक्षक विनोद दासले जितलाई निरन्तरता दिने बताए। नेपाल लाइभसँग संक्षिप्त कुराकानी गर्दै दासले सेमिफाइनलमा समूह चरणको जस्तै उत्कृष्ट खेल्ने प्रतिक्रिया दिए।
नेपाल र अफगानिस्तानका युवा टिमबीच अहिलेसम्म ९ पटक प्रतिस्पर्धा भएको छ। ९ मध्ये नेपालले ३ खेलमा मात्र जित हात पार्न सकेको छ। नेपालले पछिल्लो पटक सन् २०११ मा अफगानिस्तानलाई पराजित गरेको थियो। त्यसयता खेलिएका खेलमा नेपाली युवा टिम पराजित भएको छ।
नेपाल यू–१९ र अफगानिस्तान यू–१९ बीच अहिलेसम्मका ९ खेल:
- आइसिसी यू–१९ विश्वकप छनोट, २०१७ – अफगानिस्तान ९६ रनले विजयी
- आइसिसी यू–१९ विश्वकप छनोट, २०१७ – अफगानिस्तान १४१ रनले विजयी
- एसिसी यू–१९ प्रिमियर, २०१५ - अफगानिस्तान १० विकेटले विजयी
- एसिसी यू–१९ प्रिमियर, २०१४ - अफगानिस्तान ५ विकेटले विजयी
- आइसिसी यू–१९ विश्वकप छनोट, २०११ - नेपाल ४२ रनले विजयी
- एसिसी यू–१९ इलाइट कप फाइनल, २०११ - अफगानिस्तान ६१ रनले विजयी
- एसिसी यू–१९ इलाइट कप, २०११ - नेपाल ६ विकेटले विजयी
- एसिसी यू–१९ इलाइट कप, २००९ - अफगानिस्तान ६ विकेटले विजयी
- एसिसी यू–१९ इलाइट कप फाइनल, २००७ – नेपाल ४८ रनले विजयी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।