काठमाडौ– फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ खेल्ने सबै ३२ टिमको टुंगो लागेको छ।
सन् २०१५ मा सुरु भएको छनोट बिहीबार सकिएको हो। छनोटमा ६ महादेशका २ सय ९ टिमले भाग लिएका थिए । ३२ भाग्यमानी टिमले मात्र स्थान बनाउन सके। छनोटमा २ सय ९ टिमले ८ सय ८६ खेल खेलेका थिए ।
केही बलिया टिमले महत्वपूर्ण खेल गुमाउँदा आगामी जुनमा रसियामा हुने विश्वकपको टिकट काट्न सकेनन्। जसमा सबैभन्दा अभागी टिम इटाली बन्यो। चार पटकको विश्वविजेता इटाली युरोप प्लेअफमा स्विडेनसँग पराजित भएपछि सन् १९५८ पछि पहिलो पटक विश्वकपमा छनोट हुन असफल भएको हो। त्यसअघि समूह चरणमा इटालीलाई स्पेनले पछि पारेको थियो ।
नेदरल्यान्ड्स पनि विश्वकपमा छनोट हुन सकेन। सन् २०१४ मा तेस्रो स्थान हात पारेको नेदरल्यान्ड्स युरोप छनोटको समूह 'ए' मा तेस्रो स्थानमै सीमित बनेको थियो। नेदरल्यान्ड्स सन् १९७० पछि विश्वकपमा छनोट हुन असफल भएको हो।
यो पनि : यी हुन् विश्वकप खेल्ने ३२ टिम, दुई सातापछि समूह विभाजन
विश्वकपमा छनोट हुन नसक्ने अर्को अभागी टिम हो दक्षिण अमेरिकी देश, चिली। सन् २०१७ को कन्फेडेरेसन कपको उपविजेता चिलीले दक्षिण अमेरिकी च्याम्पियन समेत हो। चिलीले गतवर्ष कोपा अमेरिका कपको फाइनलमा अर्जेन्टिनालाई हराएको थियो। दक्षिण अमेरिका छनोटमा चिली छैटौं स्थानमा सीमित बन्यो।
उत्तर अमेरिका गोल्ड कप विजेता अमेरिकाले पनि रसिया विश्वकपमो टिकट काट्न सकेन। अमेरिका उत्तर अमेरिका छनोटको पाँचौ स्थानमा सीमित हुँदा सन् १९८६ पछि पहिलो पटक विश्वकपमा छनोट हुन सकेन।
अफ्रिकन च्याम्पियन क्यामरुन पनि विश्वकपमा छनोट हुन असफल भयो। अफ्रिका छनोटको समूह 'बी' मा क्यामरुन तेस्रो स्थान सीमित बन्यो। घाना पनि सन् २००२ पछि विश्वकपमा छनोट हुन सकेन। लगातर तीन विश्वकप खेलेको घाना अफ्रिका छनोटको समूह 'ई' मा तेस्रो स्थानमा रह्यो। विश्वकपमा छनोट हुन असफल अर्को टिम आइभरी कोस्ट हो। आइभरी कोस्ट पनि सन् २००६ पछि पहिलो पटक विश्वकपमा छनोट नभएको हो। अफ्रिका छनोटको समूह 'सी' मा दोस्रो भयो। आइभरी कोस्टलाई पछि पारेर मोरक्को विश्वकपमा छनोट हुन सफल भयो ।
अभागी ७ टिम : इटाली, नेदरल्यान्ड्स, चिली, अमेरिका, क्यामरुन, घाना र आइभरी कोस्ट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।