एजेन्सी- भारतीय कांग्रेसका युवा नेता हार्दिक पटेलमाथि थप्पड प्रहार भएको छ। गुजरातको सुरेन्ददरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभा’का क्रममा एक व्यक्तिले पटेलमाथि थप्पड प्रहार गरेका हुन्।
ती व्यक्ति दायाँतर्फबाट मञ्चमा उक्लिएर भाषण गरिरहेका पटेललाई थप्पड हानेका थिए। थप्पड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ। थप्पड प्रहार गर्ने व्यक्तिलाई पटेलका सर्मथकहरुले कुटपिट गरेका छन्। लगत्तै प्रहरीले उनलाई उद्धार गरेको थियो। हाल उनको उपचार भइरहेको छ।
पटिदार आन्दोलनबाट उदाएका दलित नेता पटेल पछिल्लो समयमा कांग्रेसमा संलग्न रहेका छन्। लोकसभा निर्वाचनको प्रचारका क्रममा भाषण गरिरहेको अवस्थामा उनीमाथि आक्रमण भएको हो।
कांग्रेसको चुनावी अभियानमा सेलिब्रिटी बनिरहेका पटेलले कृषक र बेरोजगारीको मुद्दा उठाउँदै आएका छन्। आरक्षण दिने व्यवस्थामा पटेल समुदायलाई पछि पारेको भन्दै उनले आन्दोलन सुरु गरेका थिए। उक्त आन्दोलनमा लाखौं मानिसले समर्थन गरेका छन्।
भारतीय सर्वोच्च अदालतमा पटेलविरुद्ध मुद्दा विचाराधीन रहेका कारण निर्वाचनमा उनी उम्मेदवार हुन पाएका छैनन्। तर उक्त क्षेत्रका कांग्रेस उम्मेदवारलाई उनी भोट माग्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।