काठमाडौं- नेपाल विद्युत प्राधिकरणले तीन वटा जलविद्युत कम्पनीलाई १५ दिनभित्र विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गर्न आउन पत्र काटेको छ।
३ मेगावाट उत्पादन क्षमताको पेगुखोला आयोजनाको प्रवर्द्धक कम्पनी विगु हाइड्रो भेन्चर्स प्रालि, २१ मेगावाट उत्पादन क्षमताको आयु मलुन आयोजनाको प्रवर्द्धक कम्पनी पुवाखोला हाइड्रोपावर–१ प्रालि र २१ दशमलव २ मेगावाट उत्पादन क्षमताको माथिल्लो खुदी आयोजनाको प्रवर्द्धक कम्पनी सुपरखुदी हाइड्रोपावर प्रालिलाई १५ दिनभित्र पिपिए गरिसक्न प्राधिकरणले पत्र काटेको हो।
प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा पिपिएमा हस्ताक्षरका लागि बैंक ग्यारेन्टी र अख्तियारनामासहित उपस्थित हुन ती कम्पनीहरुलाई भनिएको छ।
नेपाल विद्युत प्राधिकरणबाट स्वीकृत पिपिएमा जलप्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाका लागि ५२५० मेगावाट बराबरको सीमा तोकिएको छ। यस्ता आयोजनाहरुको सीमा नपुगुन्जेलसम्मका लागि मात्र ‘टेक–अर–पे’को प्रावधान राखी पिपिए गर्ने व्यवस्था गरिएको छ।
‘आरओआर सीमा नपुगुञ्जेलसम्मका लागि मात्र टेक–अर–पे को प्रावधान राखी पिपिए गर्न सकिने प्रावधान राखिएकाले बैंक ग्यारेन्टी र अख्तियारनामासहित पिपिएमा हस्ताक्षरका लागि उपस्थित हुन जानकारी गराइन्छ। १५ दिनभित्र पिपिए गर्न उपस्थित नभएमा टेक–अर–पेको प्रावधान राखी पिपिए गर्ने प्राथमिकता सूचीबाट हटाइनेछ,’ प्राधिकरणले पठाएको पत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।