लिस्बन– पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ।
टेलिभिजनहरुले सडकको छेउमा बस पल्टिएका दृश्यहरु देखाएका छन्। जर्मन सरकारका प्रवक्ताले मडेइरामा दुर्घटना भएको खबर आएको ट्वीट गरेका छन्।
उनले घटनामा परी मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
मृत्यु भएकामध्ये १७ जना महिला र ११ जना पुरुष रहेका अधिकारीहरुले जानकारी दिएका छन्।
घटनामा परी अरु २१ जना घाइते भएका छन् भने केही घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
घटनाप्रति पोर्चुगलका राष्ट्रपति र प्रधानमन्त्रीले पनि दुःख व्यक्त गरेका छन्। राष्ट्रपति मार्सेलो रोबेलो डी सौसाले पोर्चुगाली टेलिभिजनमा बोल्दै घटनाका पीडितहरुको साथमा आफू रहेको बताएका छन्।
त्यसैगरी प्रधानमन्त्री एन्टोनियो कोस्टाले ट्वीट गर्दै जर्मन चान्सलर एङ्गेला मर्केलप्रति सहानुभूति व्यक्त गरेका छन्। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।