नयाँ दिल्ली– भारतको लोकसभा चुनावको दोस्रो चरण अन्तर्गत बिहीबार १२ राज्य र एक केन्द्र प्रशासित प्रदेशका ९५ सिटको लागि भएको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको भारतीय निर्वाचन आयोगले जनाएको छ।
दोस्रो चरणमा ६६ प्रतिशत मत खसेको भारतीय निर्वाचन आयोगका उमेश सिन्हाले बताए।
दोस्रो चरणमा भारतको आसाम, बिहार, छत्तिसगढ, जम्मु–कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, उडिसा, पाण्डिचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका ९५ सिटका लागि निर्वाचन भएको हो।
विद्युतीय मतदान मेसिन (इविएम) मा आएका केही प्राविधिक समस्याका कारण उडिसाका चार मतदान केन्द्रमा पुनः निर्वाचन गराउने निर्णय पनि निर्वाचन आयोगले लिएको छ ।
उडिसा राज्यमा एक जना निर्वाचन अधिकारीलाई माओवादी विद्रोहीहरूले एम्बुसमा पारी गोली हानी हत्या गरेको बताइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका निम्ति निर्वाचित हुने अभिलाषासाथ अभियानमा सहभागी छन् भने विपक्षी कङ्ग्रेसले उनलाई कडा चुनौती दिइरहेको विश्लेषकहरूले बताएका छन्। यो चुनावलाई प्रधानमन्त्री मोदीप्रति जनमत सङ्ग्रहको रूपमा पनि हेरिएको छ।
भारतको लोकसभा निर्वाचनलाई विभिन्न सात चरणमा सम्पन्न गर्ने कार्यतालिका अनुसार आजसहित दुई चरणको निर्वाचन सम्पन्न भइसकेको छ। मे १९ मा अन्तिम चरणको मतदान सकिएपछि मे २३ मा मतगणना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।