सिड्नी– अस्ट्रेलिया फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि छनोट भएको छ। अन्तरमहादेशीय प्ले अफ अन्तर्गत बुधबार भएको खेलमा होन्डुरसलाई ३–१ ले पराजित गर्दै अस्ट्रेलिया विश्वकपमा छानिएको हो।
पहिलो लेग गोलरहित बराबरीमा सकिएपनि अस्ट्रेलियाले घरेलु मैदानमा भएको दोस्रो लेग ३–१ ले जितेर एक वर्षपछि रसियामा हुने विश्वकपमा स्थान पक्का गरेको हो।
अस्ट्रेलियाको जितमा माइल जेडिनाकले २ गोल गरे। उनले खेलको ७२ र ८५ मिनेटमा गोल गरेका हुन्। उनले दुवै गोल पेनाल्टीमा गरे। त्यसअघि होन्डुरसका फुगुरोआले ५४ मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि अस्ट्रेलियाले अग्रता लिएको थियो। दोस्रो हाफको इन्जुरी टाइममा होन्डुरसका अल्भेस ओभीले गरेको गोल सान्त्वनामा सीमित बन्यो।
अस्ट्रेलिया छनोट भएसँगै विश्वकप खेल्ने ३१ टिमको टुंगो लागेको छ। अब एक टिमको टुंगो लाग्न बाँकी छ।
अन्तरमहादेशीय प्ले अफअन्तर्गत पेरु र न्युजिल्यान्डबीच बिहीबार बिहान प्रतिस्पर्धा हुनेछ। पहिलो लेगमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए। जित निकाल्ने टिम विश्वकपमा छानिने अन्तिम टिम हुनेछ।
विश्वकपमा छनोट भएका टिम :
अफ्रिका – मोरक्को, ट्युनिसिया, नाइजेरिया, सेनेगल र इजिप्ट
एसिया – इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया
युरोप – रसिया (आयोजक), स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया, आइसल्यान्ड, क्रोएसिया, स्विडेन, स्विटजरल्यान्ड र डेनमार्क
उत्तर, मध्य अमेरिका तथा क्यारेबियन– मेक्सिको, कोस्टारिका र पानामा
दक्षिण अमेरिका – ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।