काठमाडौँ- सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले द्वन्द्वकालीन मुद्दा नेपालीले नै हल गर्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालय (ओएचसीएचआर)ले नेपालको द्वन्द्वकालीन मुद्दाको निरुपणबारे देखाएको पछिल्लो चासोबारे सोधिएको प्रश्नमा मन्त्री बाँस्कोटाले यस्तो प्रतिक्रिया दिएका हुने ।
‘नेपालीले, नेपालमै द्वन्द्व गरेका थिए,’ बिहिबार सिंहरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘द्वन्द्व समाधान पनि नेपालीले नै हल गर्ने हो।’
जघन्य अपराधमा कसैलाई पनि उन्मुक्ति नदिइने कुरा बारम्बार बताइएको भन्दै उनले यसले अन्तर्राष्ट्रिय र राष्ट्रिय सरोकारवालालाई सम्बोधन गर्ने बताए। ‘यस विषयमा हामीले बारम्बार भन्दै आएका छौं। जघन्य अपराधमा कसैलाई पनि उन्मुक्ति दिने कुरालाई अस्वीकार गरेका छौं,’ उनले भने, ‘यसले अन्तर्राष्ट्रिय र राष्ट्रिय सरोकारवालाई समेत सम्बोधन गर्छ।’
नेपालको द्वन्द्व व्यवस्थापन पछिल्लो समयको एक मोडल भएको भन्दै नेपालको क्षमतामा पनि अन्तर्राष्ट्रिय समुदायले पनि विचार गर्नुपर्ने बताए।
ओएचसीएचआरका ५ जना विषेश प्रतिनिधि (समाधिक्षक) ले जेनेभास्थित नेपालको राष्ट्रसङ्घीय स्थायी नियोगमार्फत् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पत्र लेख्दै नेपालका द्वन्द्वकालीन मुद्दामा विशेष चासो व्यक्त गरका थिए।
समाधिक्षकले नेपालको संक्रमणकालीन न्यायमा पीडितको सहभागिता नदेखिएको भन्दै पीडितहरुको मागका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए।
द्वन्द्वकालीन मुद्दा टुङ्ग्याउन नेपालले ढिलाइ गरेको भन्दै समाधिक्षकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोगका काम निष्पक्ष, स्वतन्त्र र पारदर्शी हुनेमा उनीहरुले शङ्का व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।