काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ।
काठमाडौंको बानेश्वरमा मुख्य कार्यालय रहेको उक्त सहकारी संस्थाका ३९ जना सदस्यहरुले समस्याग्रस्त सहकारी घोषणा गर्न माग गर्दै प्रदेश नम्बर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा निवेदन दिएका थिए। ३ नम्बर प्रदेशको कार्यक्षेत्रमा रहेको उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न निवेदन परेपछि मन्त्रालयले अध्ययनका लागि समिति बनाएको थियो।
मन्त्रालयले अध्ययनका लागि छानबिन समिति बनाउने निर्णय गरे पनि जनशक्ति नभएका कारण सहकारी विभाग संघीय मन्त्रालयसँग सहकार्य गरी दुई सदस्यीय छानबिन समिति गठन गरेको देखिन्छ।
मन्त्रालयका शाखा अधिकृत इमानाथ कँडेल र सहकारी विभागका शाखा अधिकृत टोपलाल अर्याल सदस्य रहेको उक्त अध्ययन समितिले सोसाइटल सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको देखिन्छ। उक्त अध्ययन समितिले पुस १९ गते मन्त्रालयलाई पेस गरेको प्रतिवेदनअनुसार संस्थामा १ हजार १० जना सदस्य संख्या रहेका छन्। २०५६ मंसिर ९ गते स्थापना भएको उक्त सहकारीमा ऋणीको संख्या भने ८० जना रहेको छ।
मन्त्रालयका उपसचिव दीपक खड्काका अनुसार संस्थाको सेयर पुँजी ७९ लाख र कुल दायित्व १७ करोड ७४ लाख ९१ हजार रुपैयाँ कुल दायित्व छ। त्यसैगरी, १९ लाख १२ हजार रुपैयाँ बराबरको चल सम्पत्ति र १७ लाख ३५ हजार रुपैयाँ बराबरको अचल सम्पत्ति संस्थाको नाममा रहेको छ भने कुल १२ करोड ९० लाख रुपैयाँ बराबर कर्जा लगानी कर्जा लगानी देखिन्छ।
सहकारीका सदस्यहरुको निवदेन, प्रदेश मन्त्रालयको आग्रह तथा छानबिन समितिको अध्ययन पछि संघीय मन्त्रालयले गत फागुन १९ गतेको मन्त्रिस्तरीय निर्णयबाट उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो। हाल उक्त सहकारीका सबै कागजात समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइसकेको खड्काले जानकारी दिए।
सहकारी समस्याग्रस्त घोषणा भएसँगै यस्ता संस्थाहरुको संख्या ११ पुगेको छ।
व्यवस्थापन समितिले भने हालसम्ममा ओरेन्टल बचत तथा ऋण सहकारी संस्थाको मात्रै काम भइरहेको जनाएको छ। अन्य १० वटा समस्याग्रस्त सहकारीहरुका सबै कागजात जफत गरेर सम्पत्ति तथा दायित्व मूल्यांकनको काम व्यवस्थापन समितिले गरिरहेको अध्यक्ष युवराज सुवेदीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।