काठमाडौं– विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्नुपर्ने माग गर्दै पत्रकारहरुले आज देशभर आन्दोलन गरेका छन्। नेपाल पत्रकार महासंघ शाखाको अगुवाइमा देशभरका जिल्ला प्रशासन कार्यालयमा एक घन्टा धर्ना दिइएको हो।
‘विद्युतिय कारोवार ऐनको दफा ४७ र ४८ खारेज गर। पक्राउ गरिएका पत्रकारलाई बिना सर्त रिहाई गर’ लगायत लेखिएको ब्यानरसहित पत्रकारले धर्ना दिएका हुन्।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको कार्यक्रम अनुसार बिहान साढे ९ देखि साढे १० बजेसम्म प्रशासन कार्यालयमा धर्ना दिइएको हो।
महासंघले विद्युतीय कारोबार ऐनको उक्त दफाको प्रयोगले निर्बाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध गरेको जनाउँदै आएको छ। उक्त दफाले प्रेस स्वतन्त्रतालाई निस्तेज बनाएको ठहर गर्दै महासंघले देशभर संघर्ष गर्ने घोषणा गरेको छ।
विद्युतीय कारोबार ऐन अन्तर्गत पत्रकारलाई पटक–पटक पक्राउ गरेकोमा महासंघले आपत्ति पनि जनाएको छ। समाचारका विषयमा उजुरी परेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कास्कीबाट सञ्चालित ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई पोखराबाट नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।