काठमाडौ- भारतको पूर्वी राज्य उडिसामा एक निर्वाचन अधिकारीको हत्या भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सन्दिग्ध माओवादीहरूले दोस्रो चरणको निर्वाचन हुनुभन्दा केही घन्टाअघि संजुक्ता दिगल नाम गरेकी महिला अधिकारीको हत्या गरेका हुन्।
मतदान केन्द्रतिर जाँदै गर्दा उनको गाडीमा माओवादी आक्रमण भएको बताइएको छ।
उनको गाडीमा माओवादीहरूले विस्फोटक पदार्थ राखिदिएको तर उनी विस्फोटनबाट जोगिएकी थिइन्। विस्फोटबाट पनि जोगिएकी उनलाई पछि गोली हानिएको थियो। उनीसँगै यात्रा गरिरहेका अन्य अधिकारीहरू भाग्न सफल भएका थिए।
उडिसाकै अन्य स्थानमा माओवादीहरूले एउटा मोटरसाइकल र निर्वाचन सामाग्री बोकेका दुई वटा कारमा आगो लगाइदिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।