काठमाडौं– एसिसी यू–१९ एसिया कपमा नेपालले शुक्रबार सेमिफाइनलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।
नेपालका लागि अफगानिस्तान बलियो प्रतिद्वन्द्वी हो। किनकि नेपाली युवा टिमले पछिल्ला दुई खेलमा अफगानिस्तानविरुद्ध कमजोर प्रदर्शन गरेको थियो। सिंगापुरमा गत जुलाईमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपालले अफगानिस्तानविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो। अफगानिस्तानविरुद्ध नेपालले कमजोर ब्याटिङ गर्दा पराजित हुनुपरेको थियो।
एसिया कपमा अफगानिस्तानले समूह चरणमा तीनमध्ये दुई खेलमा जित हात पारेको थियो। श्रीलंकासँग पराजित भएको अफगानिस्तानले पाकिस्तान र युएईलाई हराएको थियो। पाकिस्तानलाई ५७ रनमा अलआउट गर्दै अफगानिस्तानले उत्कृष्ट बलिङको नमुना प्रस्तुत गरेको थियो। युएईविरुद्ध अफगानिस्तानले २० ओभरमा घटाइएको खेलमा २ सय २४ रन जोड्दै ब्याटिङमा आफ्नो क्षमता देखायो।
नेपालले पनि समूह चरणमा उत्कृष्ट खेल पस्कियो। पहिलो खेलमा बंगलादेशलाई कडा टक्कर दिएको नेपालले अन्तिम ओभरमा १० रन रोक्न नसक्दा पराजय भोग्नुपरेको थियो। दोस्रो खेलमा भने नेपालले भारतलाई १९ रनले पराजित गरेर इतिहास रच्यो। खेलमा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले ८८ रन जोडेका थिए। समूह चरणको अन्तिम खेलमा नेपालले आफू बलिङमा अब्बल रहेको साबित गर्दै मलेसियालाई ४५ रनमै अलआउट गरेको थियो । ४६ रनको लक्ष्य नेपालले ५.३ ओभरमै पार गर्यो।
अब नेपालले फाइनल पुगेर इतिहास बनाउन अफगानिस्तानका मुख्य दुई खेलाडीलाई रोक्नुपर्ने देखिन्छ। प्रतियोगितामा शतक प्रहार गर्ने सूचीमा रहेका दर्विस अब्दुल रसूल र स्पिनर मुजिव उर रहमान उत्कृष्ट लयमा देखिएका छन्। दर्विसले समूह चरणका तीन खेलमा १ सय ६१ रन जोडिसकेका छन्। मध्यक्रमका ब्याट्म्यान उनले युएईविरुद्ध ३७ बलमा शतक प्रहार गरेका थिए। नटआउट १ सय ५ रन जोडेका उनले ७ चौका र १० छक्का प्रहार गरेका थिए। दर्विसले श्रीलंकाविरुद्ध पनि ५० प्रहार गरेका थिए। दर्विसबाहेक अफगानिस्तानका लागि ओपनर रहमुल्लाह गुर्वाजले पनि राम्रो ब्याटिङ गरिरहेका छन्। युएईविरुद्ध ५९ रन जोडेका उनले ३ खेलमा ८३ रन जोडेका छन्।
बलिङमा उर रहमानले ९ विकेट लिइसकेका छन्। उनी प्रतियोगिताको बढी विकेट लिने खेलाडीको सूचीको दोस्रो स्थानमा छन्। उनले पाकिस्तानविरुद्धको खेलमा ६ विकेट लिएका थिए। नभिन उल हल पनि राम्रो बलिङ गरिरहेका छन्। उनले अहिलेसम्म ६ विकेट लिएका छन्।
कप्तान दीपेन्द्रसिंह ऐरीले अहिलेसम्म नेपालका लागि बढी रन जोडेका छन्। भारतविरुद्ध ८८ रन प्रहार गरेका दीपेन्द्र प्रतियोगिताको सर्वाधिक रन हान्ने खेलाडीको सूचीमा सातौं स्थानमा छन्। दीपेन्द्रले बलिङमा पनि आफ्नो क्षमता देखाइरहेका छन्। उनले अहिलेसम्म ७ विकेट लिइसकेका छन्। दीपेन्द्रले भारतविरुद्ध ४ विकेट लिएका थिए।
प्रतियोगितामा नेपालको तर्फबाट बढी विकेट लिने खेलाडी भने सन्दीप लामिछाने हुन्। मलेसियाविरुद्ध ५ विकेट लिएका सन्दीपले अहिलेसम्म ८ विकेट लिएका छन्। उनी बढी विकेट लिने खेलाडीको सूचीको तेस्रो स्थानमा छन्। नेपालका सहाब आलमले पनि ४ विकेट लिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।