काठमाडौं- आर्थिक संकटबाट गुज्रिरहेको भारतीय वायुसेवा कम्पनी 'जेट एयरवेज'ले बुधबार रातिदेखि आफ्ना सबै उडान बन्दको घोषणा छ। भारतीय सञ्चारमाध्यममा जनाइएअनुसार उडान बन्द अस्थायीरुपमा गरिएको हो।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भारतीय ऋण दाता संघले अन्तरिम कालका लागि लगानी गर्न कम्पनीले गरेको आग्रहलाई अस्वीकार गरिएको उल्लेख छ।
आपतकालीन लगानी नपाउने भएपछि कम्पनीले तेल तथा अन्य खर्चका लागि पैसा दिन नसक्ने भन्दै उडान सम्भव नभएको जनाएको थियो।
यसकै कारण जेट एयरवेज अन्तर्राष्ट्रिय तथा घरेलु उडान रद्ध गर्न बाध्य भएको बताइएको छ। कम्पनीले यो निर्णय सबै विकल्पको खोजी र बोर्ड अफ डारेक्ट्रीको सल्लाहपछि लिएको बताएको छ।
एक वर्ष अघिसम्म कम्पनीले १ सय २० उडान भरिरहेको थियो तर सस्तो दरमा उडान भर्ने इन्डिगो, स्पाइसजेट जस्ता वायु सेवा कम्पनीका कारण जेट एयरवेजले चुनौती सामना गर्नु परेको थियो।
यसका साथसाथै बढ्दो तेलको मूल्य, कर तथा कमजोर हुँदै गएको भारतीय मुद्राका कारण कम्पनी टाट पल्टिने अवस्थामा पुगेको बताइएको छ।
२० हजार रोजागारी संकटमा
कम्पनी ठूलो आर्थिक संकटमा परेको तब थाहा भयो जब कम्पनीका २ सय ५० भन्दा बढी कर्मचारी जागिरका लागि स्पाइसजेट कम्पनीमा गए।
यो संकटका कारण जेट एयरवेजमा कार्यरत करिब २० हजार कर्मचारीको जागिर संकटमा परेको छ। जेट एयरवेजले भनेको छ कि उसले अब एसबिआई तथा भारतीय ऋण दाता संघको लिलामी प्रक्रियाको प्रतिक्षा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।