डब्लिन– डेनमार्क फिफा विश्वकप फुटबल २०१८ का लागि छनोट भएको छ। युरोप प्ले अफमा आयरल्यान्ड गणतन्त्रलाई ५–१ गोलले पराजित गर्दै डेनमार्क सन् २०१० पछि विश्वकपमा छनोट भएको हो।
पहिलो लेग गोलरहित बराबरीमा सकिएपनि दोस्रो खेलमा डेनमार्कले सानदार खेल पस्कियो। दोस्रो लेगमा डेनमार्कका लागि क्रिस्टियन इरिकसेनले ह्याट्रिक गरे। उनले खेलको ३२, ६३ र ७३ मिनेटमा गोल गरेका थिए।
त्यसअघि खेलको छैटौं मिनेटमा डुफीले गोल गरेर आयरल्यान्डलाई अग्रता दिलाए। तर २९ मिनेटमा आयरल्यान्डका क्रिस्टिनले आफ्नै पोस्टमा गोल गर्दा खेल १–१ गोलको बराबरीमा आयो। त्यसपछि इरिकसेनले ह्याट्रिक गर्दा घरेलु टिम आयरल्यान्ड स्तब्ध बन्यो। डेनमार्कका लागि पाँचौ गोल ब्रेटनरले ९० मिनेटमा पेनाल्टीमा गरेका थिए।
योसँगै युरोपबाट विश्वकपमा छानिने सबै टिमको टुंगो लागेको छ। डेनमार्क विश्वकपमा छनोट हुने तीसौं देश हो । अब विश्वकप खेल्ने २ टिमको टुंगो लाग्न बाँकी छ।
अन्तरमहादेशीय प्ले अफमा अस्ट्रेलिया र होन्डुरसबीच दोस्रो लेगमा प्रतिस्पर्धा हुँदैछ। पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो। अर्को प्ले अफमा पेरु न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। पहिलो लेगमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए।
विश्वकपमा छनोट भएका टिम यस्ता छन् :
अफ्रिका – मोरक्को, ट्युनिसिया, नाइजेरिया, सेनेगल र इजिप्ट
एसिया – इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया
युरोप – रसिया (आयोजक), स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया, आइसल्यान्ड, क्रोएसिया, स्विडेन, स्विटजरल्यान्ड र डेनमार्क
उत्तर, मध्य अमेरिका तथा क्यारेबियन – मेक्सिको, कोस्टारिका र पानामा
दक्षिण अमेरिका – ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।