काठमाडौं – एसिसी यू–१९ एसिया कपमा नेपाल पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाल समूह 'ए' मा उपविजेता बनेर अन्तिम चारमा पुगेको हो।
नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्यो। पहिलो खेलमा बंगलादेशसँग २ विकेटको झिनो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई १९ रनले हराएको थियो।
यो पनि : यू–१९ एसिया कप : नेपालको सानदार जित, मलेसिया ८ विकेटले पराजित
बंगलादेश तीनै खेलमा जित निकालेर समूह विजेता बन्यो। यता साविक विजेता भारत भने नेपालभन्दा पछि पर्यो। भारत अन्तिम खेलमा बंगलादेशसँग ८ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । समूह 'बी' बाट अफगानिस्तान समूह विजेता तथा पाकिस्तान समूह उपविजेताको रुपमा अन्तिम चारमा पुगे।

अब नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग शुक्रबार किनरारा ओभलमा प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनलमा पाकिस्तान र बंगालदेशबीच बिहीबार प्रतिस्पर्धा हुनेछ ।
नेपाल र अफगानिस्तानबीच पछिल्लो पटक गत जुलाइमा प्रतिस्पर्धा भएको थियो। आइसिसी यू–१९ विश्वकप छनोटमा भएका दुई प्रतिस्पर्धामा नेपालले दुवै खेलमा पराजय भोगेको थियो।
पहिलो खेलमा नेपाल १ सय ४१ रनले पराजित भएको थियो। पहिले ब्याटिङ गरेको अफगानिस्तानले १ सय ९१ रन जोडेको थियो । जवाफि ब्याटिङ गरेको नेपाल ४९ रनमा अलआउट हुँदा पवान सर्राफले मात्र दोहोरो अंकमा रन जोडेका थिए। उनले २६ रन जोडेका थिए।
दोस्रो खेलमा नेपाल ९६ रनले पराजित भएको थियो। अफगानिस्तानले १ सय ९५ रन जोडेको थियो। जवाफि ब्याटिङ गरेको नेपाल ९९ रनमै अलआउट भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।