तम्घास- गुल्मीको पर्यटकीयस्थल बढीगाड खोलामा मङ्गलबारदेखि व्यावसायिक रुपमा जलयात्रा (र्याफ्टिङ) सेवा सञ्चालन गरिएको छ। मुसिकोट नगरपालिका र बढीगाड गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले झक्कले एग्रो रिसोर्ट प्रालि मुसिकोट–७ को आयोजनामा बढीगाढ खोलामा व्यावसायिक रूपमा र्याफ्टिङ सञ्चालन गरिएको हो।
र्याफ्टिङको मङ्गलबार एक कार्यक्रमबीच उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बढीगाढ खोलामा सञ्चालन भएको र्याफटिङले बढीगाड क्षेत्रमा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।
बागलुङ जिल्लाको ढोरपाटन पछिल्लो समय पर्यटकको मुख्य केन्द्र बनेको बताउँदै मन्त्री विष्टले त्यहाँ आउने पर्यटकका लागि यो क्षेत्र मुख्य गन्तव्यको रुपमा रहने जिकिर गरे।
मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले नगरपालिकासँगै यस क्षेत्रमा पर्यटक भित्र्याउने मुख्य उद्देश्यका साथ नै र्याफटिङ सेवालाई संयुक्तरूपमा सञ्चालन गरिएको बताए।
मङ्गलबारबाट विधिवत र व्यावसायिक रूपमा सुरु गरिएको व्यावसायिक र्याफटिङ सेवाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो परिवर्तन आउने स्थानीयवासी अर्जुन सापकोटाकाे विश्वास छ।
बढीगाडमा र्याफटिङ सञ्चालनका लागि त्रिशूली नदीका र्याफटिङ व्यवसायी मानध्यव गुरुङसहितको टोलीले सेवा प्रवाह गर्ने भएको छ। उक्त सेवा प्रवाह गरेवापत प्रतिव्यक्ति ८ सय ५० रुपैयाँ शुल्क तोकिएको झक्कले रिसोर्टका व्यवस्थापक अनिश गैरेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।