हुम्ला- राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरिक प्रदेश राजधानी पुग्न प्रदेश ५ भएर जाने गरेका छन्। यातायातको एक मात्र विकल्प हवाई उडान रहेको छ। कर्णाली प्रदेशको केन्द्र सुर्खेत र हुम्लाको सदरमुकाम सिमकोटबीच प्रत्यक्ष सम्पर्क जोडिएको छैन।
हुम्लाका बासिन्दाले आफ्नो प्रदेशको केन्द्र पुग्न नियमितरुपमा प्रदेश ५ को नेपालगञ्ज भएर आवतजावत गर्ने गरेका छन्। हुम्लामा उडान भर्ने निजी हवाई कम्पनीले सुर्खेत-सिमकोट नियमित यात्रु उडान नगर्दा प्रदेशको केन्द्रसँग हुम्लाको सदरमुकाम प्रत्यक्ष सम्पर्क नजोडिएको हो।
निजी हवाई कम्पनी र सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले नेपालगञ्जबाट मात्र यात्रु उडान गर्दै आएका छन्। केही समय पहिले सीता एयरले कर्णालीका हुम्ला, मुगु, डोल्पा र जुम्लामा सुर्खेतदेखि नियमित यात्रु उडान गर्ने तालीका निकालेको थियो।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सीता एयरको जहाजबाट डोल्पाको जुफाल र हुम्लाको सिमकोट पुगेर नियमित यात्रु उडानको सुरुआत भएकोे घोषणा गरेका थिए। प्रदेशको केन्द्र सुर्खेतसँग जिल्ला सदरमुकाम जोड्न सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि बेवास्ता गरेको छ।
सङ्घ र प्रदेश दुवै सरकारले ध्यान नदिँदा प्रदेश ५ को नेपालगञ्ज हुँदै कर्णाली प्रदेश जानुपर्ने बाध्यता रहेको हुम्लाका स्थानीयवासीको गुनासो छ। सुर्खेतबाट हुम्ला, मुगु, डोल्पा र जुम्ला उडान नभएपछि यात्रु नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।