काठमाडौं– एसिसी यू–१९ एसिया कप अन्तर्गत नेपाल र मलेसियाबीचको खेल वर्षाले प्रभावित भएपछि २४ ओभरमा घटाइएको छ। मलेसियाको बायुमास ओभलमा सुरु भएको खेलमा नेपालले टस जितर बलिङ गरिरहेको छ।
समूह 'ए' कै अर्को खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। यो खेल पनि वर्षाले प्रभावित भएपछि ढिलोगरी सुरु भएको थियो। खेल ३२ ओभरमा घटाइएको छ। दुई खेलबाट सेमिफाइनलमा पुग्ने २ टिमको टुंगो लाग्नेछ।
मलेसिया विरुद्ध नेपाल टिम:
मोहम्मद आसिफ शेख, जितेन्द्र सिंह, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, भीम सार्की, प्रनित थापामगर, कमल सिंह ऐरी, किशोर महतो, सन्दिप लामिछाने, शाहब आलम।
लाइभ टेक्स्टका लागि यहाँ क्लिक गर्नुहोस् ।
समूहका दुई चरणका खेलअघि अंक तालिकाको शीर्ष स्थानको बंगलादेशले दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको छ। नेपाल र भारतले समान १–१ खेलमा जित र हार बेहोरेका छन्। दुवै टिमको २–२ अंक छ।
बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ। नेपाल र भारतका लागि भने सेमिफाइनलमा स्थान बनाउन जित निकाल्नैपर्छ।
बंगलादेशले जित निकालेमा नेपाललाई फाइदा हुनेछ। यो अवस्थामा नेपालले जित निकाले सेमिफाइनल पुग्ने पक्का छ। तर, भारत विजयी भएमा भने नेपालले मलेसियालाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ। किनकि भारत र नेपाल विजयी भएमा तीन टिमको समान ४–४ अंक हुनेछ। राम्रो रनरेट हुने २ टिम अन्तिम चारमा पुग्नेछन्।
समूहको दोस्रो खेलमा भारतलाई पराजित गरेको नेपाल उच्च मनोबलमा छ। नेपालले पहिलो खेलमा बंगलादेशलाई कडा टक्कर दिएको थियो। अन्तिम ओभरमा १० रन रोक्न नसक्दा नेपाललाई बंगलादेशले पराजित गरेको थियो। नेपालको तुलनामा मलेसिया कमजोर देखिएको छ। पहिलो खेलमा भारतसँग २ सय २ रनले पराजित मलेसिया सोमबार भएको दोस्रो खेलमा बंगलादेशसँग २ सय ६२ रनको फराकिलो अन्तरले हारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।