रोम– फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि आफ्नो टिम छनोट हुन नसकेपछि इटालीका कप्तान तथा गोलकिपर जियानलुइजी बुफोन भक्कानिएका छन्।
स्विडेनसँग पराजित भएर विश्वकपमा नछानिएपछि बुफोन मैदानमा रोएका छन्। त्यसो त बुफोनका लागि यो खेल देशका लागि अन्तिम थियो । बुफोनले प्ले अफको अन्तिम खेलबाट संन्यास लिने घोषणा गरेका थिए।
३९ वर्षीय बुफोनले १९९७ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए। त्यसता उनले देशका लागि १ सय ७५ खेल खेले। २० वर्ष राष्ट्रिय टिमबाट खेलेका बुफोनले सन् २००६ मा इटालीलाई विश्वकप जिताउँन प्रभावशाली भूमिका निर्वाह गरेका थिए।
अन्तिम खेल खेल्दा इटाली विश्वकपमा छनोट हुन नसकेकोमा दु:ख लागेको बुफोनले प्रतिक्रिया दिए। उनले विश्वकपमा छनोट हुन नसकेपछि इटाली विश्वकपकै बलियो टिम भएको तथा भविष्यमा सफलता हात पार्ने विश्वास व्यक्त गरे।
सन् १९३० मा उरुग्वेमा आयोजन भएको पहिलो संस्करणमा सहभागी इटाली विश्वपमा छनोट नभएको ६० वर्षपछि पहिलो पटक हो। इटाली पछिल्लो पटक सन् १९५८ मा छनोट हुन असफल भएको थियो। इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप फुटबलको उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।