काठमाडाैं- विश्व सम्पदा सूचीमा समाविष्ट स्वयम्भू र हनुमानढोका क्षेत्रलाई सम्पदा पदयात्राले जोड्ने गुरुयोजना तयार भएको छ।
सम्पदा तथा पर्यटन समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २२ सय मिटर दूरीमा रहेका दुबै विश्व सम्पदालाई पदयात्राले जोड्ने गुरुयोजना तयार पारिएको जानकारी गराएको हो।
सो गुरुयोजना विश्व सम्पदा दिवसको दिन आगामी बैसाख ५ गते बिहीबार सार्वजनिक गरिने पनि समितिका संयोजक न्हुच्छेकाजी महर्जनले जानकारी दिए। हनुमानढोका क्षेत्रमा सो गुरुयोजना सार्वजनिक गर्ने र त्यसअघि सोही दिन बिहान स्वयम्भू भूइँखेलदेखि हनुमानढोका दरबार क्षेत्रसम्म र्याली निकालिने कार्यक्रम तय गरिएको छ।
स्वयम्भूदेखि हनुमानढोकासम्मका सम्पदाहरुलाई विश्वसामू चिनाउने र पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यका साथ सो र्याली आयोजना गर्न लागिएको पनि समितिले जनाएको छ।
दुवै विश्व सम्पदाको बीचमा रहेका २० वटा भन्दा बढी स्थानीय सम्पदाहरुको पहिचान गराउने उद्देश्यका साथ गुरुयोजना तय गर्न एक वर्षअघि सो समिति गठन गरिएको थियो।
एक वर्षअघि पनि विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाको अगुवाईमा हनुमानढोकादेखि स्वयम्भूसम्म पदयात्रा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।