काठमाडौं– अनिल गुरुङले सन् २००७ को अक्टोबरमा ओमान विरुद्ध पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाउने अवसर पाएका थिए। राष्ट्रिय टिममा ‘डेब्यू’ गरेपछि अनिलले लगातार १० वर्ष नेपाली फुटबल टिमको अग्रपंक्ति सम्हाले।
१० वर्षमा ९ अन्तर्राष्ट्रिय गोल गरेका अनिलले मंगलबार नेपालका लागि अन्तिम खेल खेल्दै छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा एसिया कप छनोटअन्तर्गत फिलिपिन्स विरुद्ध खेलेपछि उनले १० नम्बर जर्सी थन्क्याउने निर्णय गरेका हुन्।
नेपाली जर्सीमा अन्तिम खेल खेल्न लागेका अनिल मंगलबार नै ५०औं अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पार गर्दै छन्। दुई साताअघि नै संन्यासको घोषणा गरेका अनिलले १० नम्बरको जर्सी र नेपाली फुटबल फ्यानलाई मिस गर्ने भावुक अभिव्यक्ति दिएका छन्।
‘फुटबलमा लागेर धेरै सफलता हात पारेँ। मलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिन्छु। दर्शकको माया र १० नम्बरको जर्सी मिस गर्नेछु’, अनिलले नेपाल लाइभसँग भने।
उनले नयाँ पुस्ताका खेलाडीलाई स्थान दिन आफूले अन्तर्राष्ट्रिय खेलबाट संन्यासको घोषणा गरेको स्पष्ट पारे।
‘फिलिपिन्स विरुद्ध मैदान उत्रिँदा मेरो ५० अन्तर्राष्ट्रिय खेल पूरा हुन्छ। नेपाली टिमबाट ५० खेल पूरा गर्नु गर्वको कुरा हो’, अनिलले भने।

अनिलले गत जेठमा राष्ट्रिय टिमबाट खेलेका थिए। यमन विरुद्ध उनी अन्तिम समय मैदानमा उत्रिएका थिए। त्यो अनिलको राष्ट्रिय टोलीबाट कप्तानीको रुपमा अन्तिम खेल पनि थियो।
पछिल्लो पाँच महिना नेपालले दुई अन्तर्राष्ट्रिय खेल खेल्दा अनिल टिममा अटाउन सकेनन्। अनिल राष्ट्रिय टिममा पर्न नसकेपछि विराज महर्जनले नेपालको कप्तानी गर्दै आएका छन्।
०७२ मंसिरमा अनिलले पहिलो पटक कप्तानको जिम्मेवारी पाएका थिए। साफ च्याम्पियनसिपका लागि घोषणा गरिएको टिममा तत्कालीन प्रशिक्षक प्याट्रिक ओसेम्सले उनलाई कप्तानको जिम्मेवारी दिएका थिए।
नियमित कप्तान सागर थापा विरुद्ध ‘म्याच फिक्सिङ’को अभियोग लागेपछि अनिललाई जिम्मेवारी सुम्पिएको थियो। सन् २००९ मा कप्तान बनेका सागरसहितका पाँच फुटबल खेलाडीमाथि एसियाली फुटबल महासंघ (एएफसी) ले आजीवन प्रतिबन्ध लगाएको थियो।
सागरको स्थानमा कप्तान बने पनि अनिलले नेपाली टिममा नियमित स्थान बनाउन सकेका थिएनन्। गत वर्ष मलेसियामा भएको सोलिडारिटी कपमा जिम्मेवारी पाए पनि अनिल पहिलो रोजाइको टिममा परेनन्। अधिकांश खेलमा बेन्चमा रहेपछि उनको स्थानमा विराजले कप्तानी गरेका थिए। अनिल गत चैतमा घोषणा गरिएको राष्ट्रिय टिममा ८ वर्षमा पहिलो पटक पर्न असफल भएका थिए।
२००८ मा उनले पाकिस्तान विरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। उनले सोही वर्ष अफगानिस्तान विरुद्ध पनि गोल गरे। पछिल्लो पटक सन् २०१३ मा उनले साफ च्याम्पियनसिपमा गोल गरेका थिए। दशरथ रंगशालामा भएको खेलमा अनिलले भारत विरुद्ध गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए।
अनिल सन् २०१२ देखि मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। ब्रिगेड ब्वाइज क्लबबाट पहिलो पटक ए डिभिजन लिग खेलेका उनी थ्रीस्टार हुँदै न्युरोड टिममा पनि आबद्ध भएका थिए।
अनिलको फुटबल करिअर १३ वर्षको उमेरमा पोखराको सहारा क्लबबाट सुरु भएको थियो।
बेलायतको चेल्सी रिजर्ब र वोकिङ क्लबमा ट्रायल समेत दिएका अनिल भारतको आइ लिग क्लबमा पनि आबद्ध थिए। उनी बेलायतमा ट्रायल दिने पहिलो नेपाली फुटबलर हुन्। अनिल सन् २००९ मा आइ लिग क्लब सिलोङ लाजोङमा ६३ लाख रुपैयाँमा ३ वर्षका लागि अनुबन्धित भएका थिए।
तस्बिरः एन्फा फेसबुक पेज
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।