ललितपुर– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबारदेखि पश्चिम नेपालको भ्रमणमा निस्किने भएका छन्।
कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्।
निर्धारित कार्यक्रम अनुसार, मंगलबार नेपालगञ्ज प्रस्थान गर्ने देउवाले त्यहाँ सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरुसँग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्नेछन्।सोही दिन देउवाले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसहित स्थानीय नेताहरु र कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्तासँग पनि भेटघाट गर्नेछन्।
भोलिपल्ट धनगढी पुग्ने देउवाले पार्टीका उम्मेदवार तथा नेता–कार्यकर्ताहरुसँग भेटघाट गर्नुका साथै अन्य पार्टीका नेता–कार्यकर्तासँग पनि कुराकानी गर्ने कार्यक्रम रहेको संयोजक खाँणले जानकारी दिए।
धनगढीमा प्रधानमन्त्री देउवाले सुदूर पश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखहरुसँग सो क्षेत्रको शान्ति–सुरक्षाबारे छलफल गर्ने कार्यक्रम छ।
देउवा ३० गते गृहजिल्ला डडेलधुरा पुग्ने र त्यस क्रममा सुदूर पश्चिमाञ्चलका विभिन्न जिल्लाको चुनावी अभियान अभियानमा सहभागी हुँदै आमसभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवाले मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री देउवाले मंसिर २ गते बझाङ र बाजुराका आमसभाहरुलाई सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्रीले त्यसपछि रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभाहरुलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहे पनि दिन भने तय गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।