गतवर्ष भर्नापश्चात् मुगुकी एक बालिकाकाे अभिभावकत्व ग्रहण गर्दै प्रधानमन्त्री ओली
भक्तपुर- ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऊँ’ भन्ने नाराका साथ सोमबारदेखि देशभर एकैसाथ विद्यार्थी भर्ना अभियान सुरु भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वान तथा स्थानीय सरकारको अधिकारअनुरुप सोमबारबाट देशभरका ७ सय ५३ स्थानीय तहमार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान सुरु गरिएको हो।
मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउने उद्देश्यले भर्ना अभियान सुरु गरेको केन्द्रका निर्देशक गेहनाथ शर्माले जानकारी दिए। शिक्षाको अधिकार स्थानीय तहमा गइसकेको अवस्थामा विद्यार्थी भर्ना अभियान स्थानीय तहले सञ्चालन गर्नुपर्ने व्यवस्थाअनुरुप यस वर्षदेखि सरकारले तय गरेको नारामा आधारित रहेर प्रत्येक स्थानीय तहले सोमबारबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको उनले जानकारी दिए।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले समेत विद्यार्थी भर्ना गराउन आह्वान गरेका बताए।
यस वर्ष विद्यालय बाहिर रहेका ९१ हजार बालबालिकालाई भर्ना अभियानमार्फत विद्यालयकाे पहुँचमा पुर्याइने बताइएकाे छ। गत वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर रहेपनि यस वर्ष यो सङ्ख्या बढेको अनुमान छ। ५ देखि ९ वर्ष उमेर समूहका २५ लाख ८३ हजार बालबालिकामध्ये गएको वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालय भर्ना भएका थिए।
भर्ना अभियानअन्तर्गत बैसाख १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने र त्यसपछि घरदैलो अभियान सञ्चालन गरेर अभियानलाई पूर्णता दिने केन्द्रका निर्देशक शर्माले जानकारी दिए। पछिल्ला वर्षहरुमा विद्यालय भर्ना भइसकेका विद्यार्थीले पनि बीचमै विद्यालय छाड्ने गरेकाेले विद्यालयमा विद्यार्थी टिकाउने गरी भर्ना अभियान सञ्चालन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।