काठमाडौं– नोभेम्बर १५, २०१६ मा नेपालले मकाउलाई पराजित गरेर एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो। उपाधिसँगै नेपालले एएफसी एसिया कपको छनोटमा स्थान बनायो। तर, त्यसयता नेपालले खेलेका कुनै पनि खेल जितेको छैन। पछिल्लो १२ महिना नेपालले ५ अन्तर्राष्ट्रिय खेल खेल्दा ४ खेलमा हार ब्यहोरेको छ भने १ खेलमा बराबरी।
हारेका चारै खेल एसिया कप छनोटका थिए। ताजकिस्तान विरुद्धको पहिलो लेगमा २–१ ले हारेको नेपाल दोस्रो लेगमा ३–० ले पराजित भयो। यमनसँग भने नेपालले गोलरहित बराबरी खेलेको थियो। नेपालले भारतसँगको मैत्रीपूर्ण खेल पनि २–० गोलले गुमाएको थियो।
एसिया कप छनोटमा फिलिपिन्सविरुद्धको पहिलो लेग ४–१ ले गुमाएको नेपालले मंगलबार दोस्रो लेग खेल्दैछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा २ बजे हुने खेलमा नेपाल जितको खोजीमा हुनेछ।
फिलिपिन्ससँग मैदान उत्रनुअघि नेपाली टिमका प्रशिक्षक ग्योतोकु कोजीले विगतका गल्ती सुधारेर राम्रो खेल्ने बताए। कोजीका अनुसार नेपालको रणनीति ४–४–२ हुनेछ। 'हामी विगतका गल्ती सच्याँएर फिलिपिन्सविरुद्ध राम्रो खेल्नेमा केन्द्रित हुन्छौं,' कोजीले भने।
यता, फिलिपिन्सका प्रशिक्षक थोमस दोनेले नेपालविरुद्धको खेल महत्वपूर्ण भएको प्रतिक्रिया दिए। 'नेपाललाई हराउन सके हामी एसिया कपमा छनोट हुनेछौं। त्यसलै हामी जित निकाल्न सबै उपाय अपनाउँछौं, ' उनले भने।
नेपाल र फिलिपिन्सबीच अहिलेसम्म ५ पटक प्रतिस्पर्धा भएको छ। ५ मध्ये फिलिपिन्सले ४ खेल जितेको छ भने नेपालले १ खेल आफ्नो पक्षमा पारेको छ। फिलिपिन्सले नेपालविरुद्ध १४ गोल गरेको छ। नेपालले भने २ गोल मात्र फर्काउन सकेको छ।

नेपालले पछिल्लो पटक सन् १९८२ मा फिलिपिन्सलाई हराएको थियो। किंग्स कपमा नेपालले फिलिपिन्सलाई १–० ले पराजित गरेको थियो।
समूह 'एफ'को सुरुवाती ४ खेलमा जित निकाल्न नसकेपछि नेपाल छनोटबाट बाहिरिइसकेको छ। त्यसैले फिलिपिन्सविरुद्धको खेल नेपालका लागि प्रतिष्ठाको लडाइँमा मात्र सीमित हुनेछ।
नेपाल समूह 'एफ'को अंक तालिकाको पुछारमा छ। खेलेका ४ मध्ये नेपाल ३ खेलमा पराजित भएको छ भने १ खेल बराबरी खेलेको छ। समूहमा १ अंक मात्र भएकाले नेपालको छनोट यात्रा सकिएको हो।
समूहमा फिलिपिन्सले ८ अंक जोडेको छ भने यमन र ताजकिस्तानले समान ६–६ अंक बटुलेका छन्। समूहका शीर्ष २ टिम २ वर्षपछि युएईमा हुने एसिया कपमा छनोट हुनेछन्।
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : विराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी
मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, अन्जन विष्ट, जगजित श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापामगर, सुनील बल
फरवार्ड : भरत खवास, विमल घर्तीमगर, अनिल गुरुङ, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की
मुख्य प्रशिक्षक : ग्योतोकु कोजी
सहायक प्रशिक्षक : राजुकाजी शाक्य
गोलकिपर प्रशिक्षक : उज्ज्वल मानन्धर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।