काठमाडौँ- नेपाल संस्कृत विश्वविद्यालय र भारतको वाराणसीस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबीच शैक्षिक आदानप्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
वाल्मीकि विद्यापीठले आज राजधानीमा आयोजना गरेको सम्पूर्णानन्दका कुलपति प्रा डा राजाराम शुक्लको अभिनन्दन कार्यक्रममा सोबारे जानकारी दिइएको हो।
केही दिनअघि वाराणसीमा भएको नेपाल, भारत र चीनका तीन विश्वविद्यालयको सम्मेलनका क्रममा उक्त सम्झौता भएको हो। विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी र कर्मचारी आदानप्रदान गरी दुवै देशले एक अर्कामा रहेका संस्कृतको ज्ञान बाड्ने जनाइएको छ।
कार्यक्रममा कुलपति शुक्लले विश्वका अन्य देशले संस्कृति र संस्कार छोड्दा पनि नेपालले नछोडेको बताएका थिए।
यसअघि भारतका विज्ञ नेपाल झिकाइए पनि नेपालका विज्ञ नगण्य रुपमा मात्र भारत गई ज्ञान बाड्ने अवसर पाउँथे। कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान विभाग प्रमुख प्रा डा काशीनाथ न्यौपाने, विद्यापीठका प्राचार्य डा गणेश घिमिरेलगायतले संस्कृतको उन्नयनमा दुवै देशका विश्वविद्यालयले सहकार्य गर्दै जानुपर्नेमा जोड दिएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।