गोरखा- नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले वाम गठबन्धन देशलाई समृद्ध बनाउने उद्देश्यले नभई भ्रम छरेर चुनाव जित्ने प्रपञ्चका साथ बनेको आरोप लगाएका छन्। गोरखा क्षेत्र नम्बर-२ बाट प्रतिनितिसभा सदस्यका प्रतिस्पर्धी भट्टराईले चुनावी प्रचारका क्रममा वाम गठबन्धनबाट आशा नराख्न आग्रह गरेका हुन्।
'कोही नडराए हुन्छ, वाम गठबन्धनले सर्वहारा वर्गको अधिनायकवाद ल्याउँदैन। सर्वहारा वर्गलाई माओवादीले पनि छोडिसक्यो, एमालेले पनि छोडिसक्यो। किसान-मजदुरका हकहितको कुरा छोडिसक्यो,' गोरखाको पालुङटार नगरपालिकाको च्याङलिङमा आयोजित चुनावी सभामा बोल्दै भट्टराईले भने, 'यो गठबन्धन त खाली भ्रम छरेर चुनाव जित्ने र फेरि राज्यशक्ति हातमा लिएर साधन-स्रोतको दोहन गर्ने उद्देश्यका साथ भएको मात्रै हो। यो कुरा सबैले बुझौं।'
भट्टराईले आफूले प्रचण्डलाई पहिले नै या त माओवादी विघटन हुन्छ, या त मेरै बाटोमा आउनुपर्छ भनेर भनिसकेको बताए।
यस्तै, सिरानचोक गाउँपालिकाको मुसेखोलामा भएको चुनाव प्रचार कार्यक्रममा भट्टराईले आफू आर्थिक विकास र समृद्धिका लागि नयाँ अवतार लिएर आएको बताए।
उनले पौराणिक कथाहरु उदृत गर्दै भने, 'हाम्रा कथा पुराणमा पनि समय र युग अनुसार देवताले फरक-फरक अवतार लिएको उल्लेख छ। त्रेता युगमा रावणसँग लड्न राम अवतार, द्वापर युगमा कंशसँग लड्न कृष्ण अवतार लिएको उल्लेख छ नि। हामीले राजतन्त्रसँग लड्न माओवादी अवतार लियौं, अब पछि परेको आर्थिक अवस्थासँग लड्न र आर्थिक विकास र समृद्धि हासिल गर्नका लागि नयाँ अवतार चाहिन्छ, त्यसैले नयाँ शक्ति बनाएको हो, मैले नयाँ अवतार लिएको हुँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।