भरतपुर– चुनाव प्रचारमा ब्यस्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र-३ मा आफ्नो प्रतिस्पर्धी नै नभएको बताएका छन्।
'चितवन-३ मा कांग्रेसका थुप्रै नेता थिए, कांग्रेसकै नेता उठेका भए मेरो प्रतिस्पर्धी छन् भन्न हुन्थ्यो,' पार्वतीपुरमा आयोजित सभामा प्रचण्डले भने, 'कांग्रेसका साथीहरुले राप्रपालाई अघि सार्नुभयो। एउटा लोकतान्त्रिक पार्टीले राजतन्त्रको पक्षधर पार्टीका मान्छेलाई अघि सारेपछि मेरो प्रतिस्पर्धी छ कसरी भन्नू?'
प्रचण्डले राजा फाल्न, गणतन्त्र ल्याउन संघर्ष गरेको कांग्रेसले हलोमा भोट हाल्दा बिपी, गणेशमानको अपमान हुने बताए। उनले कांग्रेस मतदातालाई लक्षित गर्दै भने, 'शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजा बाबुको अपमान हुन्छ। गणतन्त्र र संघीयताको अपमान हुन्छ। तपाईं जिन्दगीभर जसका विरुद्ध लड्नुभयो, त्यही पार्टीको हलोमा भोट हाल्न तपाईंको कुन नैतिकताले देला?'
'जीवनको अन्तिम क्षणमा गिरिजा बाबु अस्पतालमा हुनुहुन्थ्यो, म भेट्न गएँ। गिरिजा बाबुले, प्रचण्डजी यो देश तपाईंलाई जिम्मा लगाएर जाँदैछु भन्नुभयो। कांग्रेसलाई जिम्मा लगाएर जाँदैछु भन्नु भएन। त्यो गिरिजा बाबुको गणतन्त्रप्रतिको निष्ठा थियो,' उनले गिरिजा बाबूसँगको आफ्नो अन्तरंग सुनाउँदै भने, 'अहिले राप्रपालाई बोकेर कांग्रेसले गणतन्त्रप्रतिको प्रतिबद्धता भुल्न खोजेको छ। यो कुरा कांग्रेसका साथीहरुले बुझ्न जरुरी छ।'
प्रचण्डले अब नेपालमा कम्युनिस्ट र कांग्रेसबीच मात्र प्रतिस्पर्धा हुने बताए। भने, 'विचार मिल्ने पार्टीहरु एक हुनु नै देशका लागि राम्रो हुन्छ। राजनीतिक स्थिरताका लागि पनि थोरै पार्टी हुनुपर्छ। कांग्रेसले पनि विचार मिल्नेहरुसँग एकता गरोस्। वामपन्थी एकता कसैका विरुद्ध लक्षित छैन। हाम्रो विचार मिल्यो र एक ठाउँमा आयौं। कांग्रेस पनि विचार मिल्नेहरुसँग मिल्दा हामी खुसी नै हुन्छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।