काठमाडौं- क्षेत्रीय रूपमा महिला सशक्तिकरण र विश्वव्यापी शान्ति तथा मित्रताको सन्देश फैलाउन नेपाल, चीन र भारतका तीन जना महिलाले संयुक्त रुपमा सगरमाथा आरोहण गर्ने भएका छन्। तीन देशका महिलाआबद्ध भएर सगरमाथा आरोहण गर्न लागेको यो इतिहासमै पहिलो पटक हो।
नेपालकी माया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामु मा यो आरोहण दलमा संलग्न छन्।
नेपालबाट प्रतिनिधित्व गरेकी माया सगरमाथा आरोहण गर्ने पहिलो तामाङ महिला समेत हुन्। उनी २०१७ देखि युएन वुमेनको सद्भावना दूतका रुपमा पनि काम गरिरहेकी छन्।
उक्त आरोहण दलको नेतृत्व प्रसिद्ध पर्वतारोही पम्बा दिर्जी शेर्पाले गर्नेछन्। उनले १८ पटक सगरमाथाको सफल आरोहण गरेका छन् भने ६ वटा विश्व रेकर्डसमेत कायम गरेका छन्। शेर्पा नेपालपर्यटन वर्ष २०११ का सद्भावना दूत पनि थिए।
उनीहरुको अभियानलाई ‘भिजिट नेपाल वर्ष–२०२०’ ले सघाएको छ।
उनीहरुको आरोहण सफल भएका प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर सहितको भिजिट नेपाल वर्ष २०२० को झन्डा सगरमाथामा फहराउने छ।
यसले क्षेत्रीय रुपमा महिला सशक्तिकरणका लागि सहयोग पुग्ने उनीहरुको विश्वास छ।
महिलाले पनि साहसिक काम गर्न सक्छन् भन्ने सन्देशसहित अरु महिलालाई पनि नेपालका हिमाल चढ्न प्रोत्साहन गर्ने उद्देश्यले यो अभियान सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।